८ पुष २०८१, सोमबार
,
Latest
एनपिएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ सूर्यदर्शन सहकारी ठगीको मुद्दा न्यायाधीश राईको इजलासमा रवि लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै शक्ति समूहकी संस्थापक सुनिता दनुवार घरमै मृत अवस्थामा फेला बालेनले नै दिएका थिए काठमाडौं टावरको नक्सा पासको स्वीकृति ! आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत आजदेखि हिउँदे वर्षा, कहाँ–कहाँ पर्दैछ पानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी



अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरलाई चर्चामा ल्याउन स्थानीयवासीको प्रयास सार्थक हुँदै गएपछि यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो ठाउँ अहिले धार्मिक पर्यटकीय स्थल बन्न थालेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो । जीर्ण रहेको मन्दिरलाई पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । तामाको छानो छाएर गजुर राखिएको उक्त मन्दिर पुनर्निर्माणका लागि साढे दुई करोड खर्च भएको छ ।

मन्दिरको नजिकै वनभोजस्थल बनाइएको छ । वनभोजका लागि पनि विभिन्न समूह आउने क्रम बढेको छ । चिसो हावा र मनोरम दृश्यका कारण वनभोजका लागि यस ठाउँ पर्यटकको रोजाइँमा पर्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सो अनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोड आवश्यकपर्ने देखिएको छ ।

मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको सहयोगमा भजनकीर्तन गर्न पार्टी निर्माण गरेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेको संयोजक घिमिरेले बताउनुभयो । “यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि गुरुयोजना बनाएर अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “करिब रु एक करोड खर्च भए पनि गुरुयोजनाअनुसारका सम्पूर्ण काम सक्छौँ ।” मन्दिर र अन्य पूर्वाधार निर्माणका लागि हालसम्म प्रदेश सरकारले रु ६५ लाख, सङ्घीय सरकारले रु आठ लाख, म्याग्दे गाउँपालिकाले रु २६ लाख सहयोग गरेको छ । रु २० लाखको लागतमा व्यावसायिक भवन निर्माणको तयारी गरिएको छ ।

पहिलो पटक किल्चोक पुग्नुभएका तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले यो ठाउँ मनोरम रहेको बताउनुभयो । “मन्दिरको छुट्टै महत्व त छँदैछ तर यहाँको हावापानी र दृश्य पनि मनमोहक लाग्यो”, उहाँले भन्नुभयो, “पहिलो पटक पुग्दा नै आनन्द आयो, यस ठाउँको व्यापक प्रचारप्रसार गर्नुु आवश्यक छ ।”

यो मन्दिरको छुटृै विशेषता रहेको छ, त्यो विशेषता हो– मन्दिरमा रहेको घण्ट आफैँ हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, कसैले नहल्लाइकन पनि घण्ट आफैँ हल्लिन्छ र ? तर मन्दिरमा रहेको घण्ट आफैँ हल्लिएको देख्दा स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत चकित पर्ने गरेका छन् । अकलादेवी खुसी भएकाबेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको बताइन्छ । देवी प्रशन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको संयोजक घिमिरेले बताउनुभयो । “यज्ञयज्ञधि, धार्मिक अनुष्ठान र पञ्चवलि दिएका बेलामा देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ, यहाँ दैविशक्ति भएको यसले पुष्टि गर्छ ।”

विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासीले बताए । त्यस बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यसबारेमा जानकारी गराएपछि यो दैवीय शक्ति नै भएको र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ भनेर संरक्षणको काम सुरु भएको थियो ।

“घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चवलि लिएर आएको समयमा घण्ट हल्लन्छ”, स्थानीयवासी दधिराज घिमिरेले भन्नुभयो । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ दैनिक ५०-६० भक्तजन पूजाआजाका लागि आउने गरेका छन् । विसं २०५५ मा मन्दिरमा योगी नरहरिनाथले ८५औँ कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएका कारणले नरहरिनाथले यहाँ कोटीहोम लगाउनुभएको बताइन्छ ।

अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान गरिएको छ । मन्दिर नजिकै पञ्चवलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ । रासस