२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकको कडा कदमः घरजग्गादेखि सेयरसम्मको कर्जा प्रवाहमा कडाइ



अ+ अ-

काठमाडौँ — नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, व्यक्तिगत सवारी साधन खरिद, रियल इस्टेट, सेयर धितोलगायत क्षेत्रको कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ती क्षेत्रको कर्जा प्रवाहमा कडाइ गर्ने घोषणा गरेको थियो । बैंकले उक्त व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन संशोधन गरेर ती क्षेत्रको जोखिम भार बढाएको छ ।

जोखिम भार बढेपछि तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकले अतिरिक्त पुँजी (पुँजी कोष अनुपात) को व्यवस्था गर्नुपर्ने भएकाले उनीहरूको कर्जा प्रवाह क्षमता घट्छ । अतिरिक्त पुँजी व्यवस्था गर्नुपर्दा बैंकको लागत बढ्छ । लागत बढेपछि बैंकहरूले कर्जाको ब्याज तय गर्दा प्रियिमय बढाउँछन् । यसरी तुलनात्मक रूपमा त्यो क्षेत्रको कर्जा महँगो हुन जान्छ । यसकारण जोखिम भारमार्फत कम उत्पादनमूलक मानिएका क्षेत्रमा जाने कर्जामा राष्ट्र बैंकले कडाइ गर्ने नीति लिएको हो । तोकिएका क्षेत्रमा राष्ट्र बैंकले दोब्बरसम्म जोखिम भार बढाएको छ ।

‘निर्देशनमार्फत राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको जोखिमभार १५० प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो भार ७५ प्रतिशत थियो ।

यस्तै, व्यक्तिगत हायरपर्चेज कर्जाको भार पनि १५० प्रतिशत पुर्‍याइएको छ, यसअघि यस्तो भार व्यक्तिका लागि ७५ प्रतिशत र संस्था कम्पनीका लागि १०० प्रतिशत थियो ।

सेयर कर्जामा पनि जोखिम भार बढाएर १५० प्रतिशत र ट्रस्ट रिसिप्ट कर्जाको भार १२० प्रतिशत पुर्‍याइएको छ । यसअघि यी दुवै कर्जामा १०० प्रतिशत जोखिम भार थियो । सेयर कर्जाको भार गत वर्ष मात्र १५० बाट घटाएर १०० प्रतिशत बनाइएको थियो ।

उल्लिखित क्षेत्रमा जोखिम भार बढाएको राष्ट्र बैंक प्राथमिकताका क्षेत्रमा प्रवाह हुने कर्जामा भने केही लचिलो बनेको छ । निर्देशनअनुसार वाणिज्य बैंकहरूले २०८० साल सम्ममा कृषि क्षेत्रमा कुल कर्जाको न्यूनतम १५ प्रतिशत प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था थियो । यस्तै, २०८१ सम्म ऊर्जामा कुल कर्जाको १० प्रतिशत र विपन्न वर्गमा (एक करोडभन्दा कम रकमको) १५ प्रतिशत कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो ।

अब बैंकहरूले उल्लिखित सबै क्षेत्रको कर्जा पुर्‍याउन २०८२ सम्मको समय पाएका छन् । यो व्यवस्थाले बैंकहरूलाई केही राहत पुग्ने देखिन्छ । यसरी उत्पादनमूलक क्षेत्रमा लचिलो र अनुत्पादक क्षेत्रमा कडाइ गरेर राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा धेरै कर्जा केन्द्रित गर्न चाहेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किनबेचमा राष्ट्र बैंकले कडाइ गरेको छ । अब कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्थाबाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद बिक्री गर्नुपूर्व अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ ।

यस्तै, बैंकले पूर्वाधार विकास बैंकलाई पनि ऊर्जा ऋणपत्र जारी गर्न सक्ने नीतिगत व्यवस्था गरेको छ । ऋणपत्र जारी गरी संकलन गरिएको रकमबाट लगानी गरिएको ऊर्जा परियोजनाको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने निर्देशन पनि राष्ट्र बैंकले जारी गरेको छ ।