२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको रायखोरको पहिराले राहुघाट नदी थुनियो



सांकेतिक तस्बिर
अ+ अ-

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए । 

“करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ”, उनले भने, “निरन्तर पहिरो खसिरहेको छ ।” राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ‘ओभरफ्लो’ हुन थाले पनि जोखिम कायमै रहेको मगरले बताए । 

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए । राहुघाटको तटीय क्षेत्रमा ४८।५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन छन् । 

बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरीक्षणका लागि पठाइएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए ।