१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अलौकिक तीर्थाटनः गोसाईंकुण्ड

अलौकिक तीर्थाटनः गोसाईंकुण्ड
अ अ+ अ-

गोसाईंकुण्ड, वाल्यकाल देखि नै सुन्दै, पढ्दै आएको र धेरैले तीर्थ यात्रा गरेको, १० बर्ष अगाडि आमा, बुबा र भाईले समेत तीर्थ यात्रा गरी सकेको, तीर्थाटन विषयमा नै विद्यावारिधि समेत गरेको हुनाले मेरो मनमा पनि एकपटक जाने हुटहुटी जागी रहेको थियो ।

यस पटक छिमेकी इष्टमित्रहरु र धर्मपत्नीका साथ अलौकिक तीर्थाटन पुरा गर्ने अवसर मिल्यो । लामो र कठिन यात्रामा निस्कँदा आवश्यक तयारी सहित समूहमा जाँदा राम्रो हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । साउनको महिना, मौसम विज्ञान विभागले लगातार बर्षा हुने आकलन गरेकै अवस्थामा त्यसै अनुरुप तयारी सहित २० जनाको हाम्रो समूह पनि गोसाईंकुण्ड तीर्थाटनको लागि कलंकीबाट निस्कियौं ।

दधार भगवान् कण्ठे मन्त्र मूर्तिमहेश्वर ।
तथा प्रभृति देवस्तु नीलकण्ठ इतिश्रुति ।। (महाभारत, आदीपर्व)

हिन्दूधर्म ग्रन्थहरु रामायण, महाभारत, स्कन्धपुराण, शीवपुराण, हिमवतखण्ड आदिमा उल्लेख भए अनुुसार देवता र दानवहरु विच अमृत प्राप्तिकालागि समुन्द्र मन्थन गरिएको थियो । यसैक्रममा कालकुट विष उत्पन्न हुन पुग्यो । त्यो विषले सारा ब्रह्माण्ड नै समाप्त पार्न लागेपछि सम्पूर्ण देवी देवताहरुले भगवान् शिवलाई पुकार गरेछन् । जगतका मालिक महादेवले कालकुट विष सेवन गरेपछि त्यो विष घाँटीमा गएर बसेछ ।

त्यस पछि भगवान् शिवको नाम निलकण्ठ रहन गएको मान्न्छि । कालकुट विषको डाहा शान्त पार्न भगवान् शिव हिमालय पर्बत तिर लागे र आफ्नो त्रिशूलले पर्बतमा हिर्काए । त्रिशूल प्रहार पछि हिमालयको काखबाट चिसो जलधारा बग्न थाल्यो । त्यहि जल पान गरेर भगवान् शिवले विषको डाहा शान्त पारे । त्यहि त्रिशूल धाराको पानीबाट गोसाईंकुण्ड उत्पत्ति भएको किंबदन्ती पाइन्छ ।

प्राकृतिक छटाले भरिएको गोसाईंकुण्ड, धार्मिक रुपमा जोडिएका कुण्डहरुको संगमस्थल नै रहेछ । गोसाईंकुण्ड वरपरको क्षेत्रमा सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्ड, चन्द्रकुण्ड, आमाकुण्ड, दूधकुण्ड, रक्तकुण्ड लगायत १०८ वटा कुण्डहरु रहेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने गोसाईंकुण्ड ४३८० मिटरको उचाइमा रहेको छ ।

हिन्दूहरुको यो महान तीर्थस्थलमा विशेष गरी जनैपूर्णिमा र गंगादशरा पर्वमा ठूलो मेला लाग्दछ । अन्य समयमा पनि गोसाईंकुण्ड स्नान गर्दा पूण्य मिल्छ भनी आफूलाई पायक पर्ने चाडपर्व वा समयमा गोसाईंकुण्ड जानेको संख्या उल्लेख्य नै पाइन्छ । बौद्ध धार्मावलम्वीहरुको समेत आस्थाको केन्द्र गोसाईंकुण्ड नेपालकै एक उत्कृष्ठ धार्मिक पर्यटकीय स्थलमात्र नभई प्रकृतिको एक अनुपम उपहार र सहासिक पर्यटनको आकर्षक गन्तब्य स्थल पनि हो ।

धेरै भिडभाड हुने कठीन यात्रामा जानु पूर्व नै यात्रा, बसाइ, सुताइ, खानपीन सहज होस भनी हाम्रो समूहले गाडि तथा होटलको पहिले नै बुकिङ्ग गरेर, पैसा तिरि सकेका थियौं । श्रावण २५ गते विहान ६ बजे कलंकीबाट डिलक्स बस चढ्ने गरी जम्मा भएका हामीलाई बस चढ्दाकै बखत अर्कै बसका लागि टिकट काटेका २ जना अटेरीहरुले हाम्रो सिटमा बसेर, १ घण्टा भन्दा बढी समय विवाद गरेर यात्राको सुरुवाती नै खल्लो बनाइदिए । तर पनि हजारऔं पर्यटकहरुको लस्करमा हामी पनि समाहित भयौं र अगाडि बढ्दै गयौं ।

यो बर्ष जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड तीर्थयात्रामा जानेहरुको सास्ती रसुवा जिल्लाको सदरमुकाम धुन्चे सम्मको गाडी यात्राबाट नै सुरु भयो । धुन्चे पुग्न भन्दा करिव ३५ किलोमिटर अगाडि एक रात अघिमात्र निकै ठूलो पहिरो गएको रहेछ । त्यो पहिरो पन्छाउन महिनौं लाग्ने कुरा स्थानीयहरुले बताए ।

व्यवशायीक धर्म अनुसार काठमाडौंबाट धुन्चे र धुन्चेबाट काठमाडौंसम्मको डिलक्स बसको भाडालिएर टिकट काटेपछि यात्रुहरुलाई गन्तब्य सम्म पु-याउने सबै व्यवस्था यातायात व्यवशायीहरुले नै मिलाउनु पर्ने हो । तर त्यहाँ त पहिरोको बहानामा यात्रुहरुलाई दुःख दिने र लुट्ने काम भयो । हजारौं तीर्थयात्रीहरु जसरी पनि गन्तब्यमा जानु पर्ने बाध्यताको फाइदा व्यवशायीहरुले लिए । कोहि ट्रिपरमा त कोहि कुखुरा बोक्ने गाडीमा, केहि बसमा त कोहि अन्य साधनहरु जे पाइन्छ, त्यसैमा पानीमा भिज्दै र दोब्बर, तेब्बर सम्म भाडा तिरेर धुन्चे पुग्नु पर्ने तीर्थयात्रीहरुको बाध्यता थियो ।

रसुवा सदरमुकाम धुन्चे बजार र पदमार्गमा होटल, होमस्टेका साथै स्थानीयहरुले बनाएका अस्थायी छाप्रा (थर्पु) हरु तीर्थयात्रीहरुले खचाखच भएका थिए । हामीले अर्को दिन हिड्न केहि सहज होस् भनी पहिलो दिन धुन्चे नबसी देउराली सम्म जाने गरी देउरालीमा होटल बुकिङ्ग गरेका थियौं । त्यसैले पानी झमझम परेको छ, थकाइ लागेको छ, साँझ परेको छ र पनि हामी अगाडि बढ्यौं । सहरका मानिस स्वार्थी हुन्छन्, पैसाको लागि जे पनि गर्छन् तर गाउँमा त्यस्तो हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । तर त्यो कुरालाई यस पटकको गोसाईंकुण्डको यात्राको अनुभवले मिथ्या सावित गरिदियो ।

अलि छिटो हिड्नहरुकोे हाम्रो टोली ९ बजे देउराली होटल पुग्दा होटलमा खुट्टाटेक्ने ठाउँ सम्म थिएन । हामीले होटल सञ्चालकलाई हाम्रो कोठा देखाउन भन्यौं । होटल सञ्चालकले भने, “कोठा त छैन” । “अनी बुकिङ्ग गरेर पैसा तिरेको के मतलब”, हाम्रो प्रश्न थियो । दश बजे राती हाम्रो सबै टोली जम्मा भयौं । खाना खाने ठाउँमा टेबल, कुर्सी हटाएर हामी त्यहि सुत्यौं । झण्डै ३०० यात्रीहरुले खचाखच भरिएको त्यो होटलमा एउटामात्र शौचालय रहेछ, त्यसमा पनि पानी छैन । यो एउटा प्रतिनिधि घटना होला भनेको भोलीपल्ट लौरीविनायकको होटलको हालत पनि त्यस्तै रहेछ ।

कठीन उकालो छ, भोक, तीर्खा, थकाई लागेको छ, पानी परेको छ, रात परी सकेको छ, यसो दुइचार घण्टा सुत्ने, तातो पानी र केही खानेकुरा खान पाए हुन्थ्यो भन्ने सबै तीर्थयात्रीहरुको बाध्यताहरु थिए । यी यात्रीहरु अधिकांस एक पटक मात्र आउने हुन् र यहि हो हाम्रो कमाउने मौका जस्तो गरी व्यवशायीक धर्म समेत भुल्नेहरुको पनि विगविगी नै रहेछ गोसाईंकुण्ड तीर्थयात्रा मार्गमा । होटल बुकिङ्ग नगरेका र विचल्लीमा परेकाहरुसँग सकेसम्म बढी असुल्ने खालको प्रबृत्ति पनि देख्न पाइयो । त्यहाँ भएका वेथितिहरुको मेला व्यवस्थापन समिति, स्थानीय सरकार, नेपाल आर्मी, नेपाल पुलिस लगायतका निकायहरुले अनुगमन गर्ने कामलाई ध्यान दिन सके तीर्थयात्रीहरुलाई केही सहज बन्न सक्दथ्यो ।

अन्य पदमार्गहरुको तुलनामा गोसाईंकुण्ड तीर्थयात्रा मार्गमा सबै कुराहरुको मुल्य बढी छ भन्ने गुनासो सुनिन्थ्यो । तर सुविधा सम्पन्न राजमार्गका होटलहरुले बेच्ने मुल्यको तुलनामा यो कठीन पदमार्गमा एक कप दूध चियाको ८० रुपैयाँ, कालो चियाको ५० रुपैयाँ, एउटा उसिनेको अण्डाको १०० रुपैयाँ, एक गीलास तातो पानीको ५० रुपैयाँ, सानो बोटल कोकको ३०० रुपैयाँ, एक बोटल पानीको १०० रुपैयाँ धेरै महङ्गो हो जस्तो लागेन ।

उकालो चढ्दै जाँदा ठूला रुखहरु साना बुट्यानहरु, झाडी र घाँसमा परिणत हुँदै गए । ठूलाठूला चट्टान सहितका पहाड, गहिरा खोँचहरु, रंगीविरंगी लेकाली फूलहरु, पर देखिने झरनाहरु, भेंडीगोठहरुमा देखिने भेंडाच्याङ्ग्रा, चौंरीहरुले यात्रालाई अझ रोमाञ्चित बनाउने काम गरेकोले तीर्थयात्रीहरुलाई थकानको कुनै महशुष हुन दिएन । गोसाईंकुण्ड स्थान गरेर ओरालो फर्केका र स्थान गर्न उकालो चढ्नेहरुमा राम्रो संवाद हुने, हौसला दिने गरेको र कसैले हर हर महादेव, जय शम्भो कैलाश पति भन्दै गर्दा अपरिचितहरुले पनि प्रतिउत्तर दिँदै हिडेको र सौहार्दताको नमूना प्रस्तुत गरेको देख्दा, सुन्दा सबै यात्रुहरुलाई धेरै नै उर्जा मिल्ने रहेछ ।

बर्षा याममा गोसाईंकुण्ड तीर्थयात्रीको लागि हिलो र चिप्लो बाटोको सहारा लौरो बन्दो रहेछ । सबैको हातमा लौरो थियो । गोसाईंकुण्ड तीर्थयात्राको क्रममा लौरीविनायक पास पनि काट्नु पर्दो रहेछ । आफूले टेकेर आएको लौरो बाटोमा पर्ने गुम्वामा चढाउने चलन रहेछ । तर लौरीविनायक पछि पनि झण्डै तीन घण्टा हिडेर गोसाईंकुण्ड पुगिने र फर्किने वेलामा ओरालोमा झनै लौरोको सहारा चाहिने भएकोले तीर्थयात्रीहरुले केही भेटी चढाएर, क्षमा माग्दै लौरो आफैले लैजाने गर्दा रहेछन् । हामीले पनि त्यसै ग¥यौं । सकेसम्म बाटोमा लौरो नसाट्ने र घरमा पनि फिर्ता नल्याउने परम्पार रहेछ । फर्कने क्रममा घट्टेखोला झरेर तेर्सो हिड्ने वेलामा मन्दिर छेउमा लौरोलाई भेटी सहित चढाएर हामी अगाडि बढ्यौं ।

बर्षा यामको यात्रा, मौसमको कुनै अनुमान नै गर्न नसकिने । बाटोभरी रंगीचंगी रेनकोट, केहीले सामान्य प्लाष्टिक र केहीले छाता ओडेर, केही भिज्दै उकालो र ओरालो गरेको दृष्य पनि शुन्दर नै थियो । गोसाईंकुण्ड तीर्थयात्री मार्गमा सामान्यतः दिउँसोको २ बजेपछि पानी पर्न सुरुगर्ने र रातीको ३ बजेपछि आकास खुल्ने, विहानी पख हिड्न आनन्ददायी हुने रहेछ ।

जनै पूर्णिमाको दिन, गोसाईंकुण्डमा विशेष स्नान गर्ने दिन, लौरीविनायकको होटलबाट विहान ४.३० बजे नै हाम्रो टोली अगाडि बढ्यो । तीन घण्टाको हिडाइ पछि ७.३० बजे सूर्यका किरणहरु पोखरीमा पर्दै गर्दा, स्वर्गको कुनै टुक्रा जस्तोे मनमोहक दृष्यसँगै हामी गोसाईंकुण्ड पुग्यौं । चर्चा गरेजस्तो जाडो थिएन । लुगा खोलेर कुण्डमा टेक्दा पानी निकै चिसो लागेको थियो तर अली पर गएर तीन पटक डुबुल्की मारेर बाहिर निस्कँदा पनि चित्त नबुझेर म फेरी पनि कुण्डमा गएँ र अर्को तीन पटक पुनः डुबुल्की मारेँ ।

स्वर्गबासी माता, अन्य पित्रीहरु, भगवान्हरु सबैलाई जल अर्पण पछि नजिकैको शीव मन्दिरमा रहेका पण्डितसँग मागेर जनै फेर्ने, डोरो बाँध्ने काम, शीवजीको पूजा गर्ने काम सकेपछि हामी त्रिशुलधारा तर्फ लाग्यौं । त्रिशुलधाराको जल ग्रहण गर्ने, घर लैजानको लागि जल भर्ने र सँगैको शीवलिङ्गको पूजा गर्ने भिडमा हामी पनि समाहित भयौं । यो एउटा जीवनकै महत्वपूर्ण क्षण थियो । कसैमा स्वार्थ थिएन, रिस थिएन, सहयोगी भावना थियो, संकल्प थियो ”जय शिव शंकर भोला, सफल होस् यो मानव चोला” । हरहर महादेव !

चौतर्फी रुपमा हिन्दूधर्म र संस्कृतिमाथि आक्रमण भै रहेको, युवाहरुमा पश्चिमा संस्कृति प्रति मोह बढ्दै गएको जस्ता विभिन्न कुराहरु सन्न पाइन्छ । तर यस पटक गोसाईंकुण्ड तीर्थयात्रा जानेहरुको भिड हेर्दा, केही यात्रुसँग कुरा गर्दा फरक खालको अनुभूति भयो । हाल आएर नेपाली युवा युवतीहरुमा देशका विभिन्न गाउँ, पहाड, मनोरम स्थलहरु घुम्न जाने, रमाउने, स्थानीय उत्पादन खपत गर्ने सँस्कृतिको विकास हँदै गएको पाइन्छ । मेरो अनुमानमा यो पटक २५ देखि ४० बर्ष उमेर समूहका युवा युवतीहरु झण्डै ५० प्रतिशतको हाराहारीमा गोसाईंकुण्ड तीर्थयात्रा गएको देखिन्छ ।

७० बर्ष काटेका बृद्धबृद्धाहरुको संख्या पनि उल्लेख्य थियो भने केहीले साना बच्चा बोकेर पनि यो यात्रामा गएका थिए । अर्को राम्रो पक्ष भनेको ठूलै संख्याका युवाहरु नेपालको राष्ट्रिय झण्डा बोकेर गोसाईंकुण्ड तीर्थयात्रा गएको पनि पाइयो । यस्ता युवाहरु केही स्वतःस्फूर्त रुपमा राष्ट्रिय झण्डा बोकेर गएका थिए भने केही युवाहरु राष्ट्रिय जागरणका विभिन्न संस्थाहरुमा आबद्ध भएका पनि थिए ।

लामो र कठीन यात्रा समूहमा गर्दा निकै रमाइलो र यादगार हुने रहेछ । समूहमा जाँदा एक आपसमा सहयोग हुने, रमाइलो कुरा गर्दै जाँदा बाटो काट्न सजिलो हुने, राती होटलमा बस्दा अनुभव साट्न मिल्ने, यात्रामा खानकोलागि लगिएका चकलेट, कागती, टिम्मुर र तीलको अचार, तीतौरा, गुँधपाक, काजु, बदाम, पेस्ता लगायतका शुख्खा फफूल, आदि एक आपसमा बाँड्दै, खाँदै हिड्नुको आनन्द नै बेग्लै हुने रहेछ ।

हिड्न गाह्रैहुने तीर्थयात्रीहरुका लागि घोडा चढ्न मिल्ने र घोडामा चढ्दा गाह्रो हुने स्थानमा भरियाहरुले नै बोक्ने पनि व्यवस्था रहेछ । जसलाई लेक लागेर वा अन्य कारणले स्वस्थ्यमा समस्या देखिन्छ, उनीहरुलाई नेपाल आर्मी, शसस्त्र र नेपाल प्रहरीले तुरुन्त उद्धार गर्ने गरी व्यवस्था पनि मिलाएको देख्दा र केहीको उद्धार गरेको देख्दा खुशी पनि लाग्यो । स्वयंसेवी संस्थाहरुले ठाउँठाउँमा स्वास्थ्य सिविर पनि सञ्चालन गरेका थिए ।

धुन्चेसम्म यातायातको सुविधा, पदयात्रा मार्ग फराकिलो, हिड्न सिंडी र छेउमा वारको व्यवस्था भएकोले गोसाईंकुण्ड तीर्थयात्रलाई सहज र छोटो बनाएको छ । अलि छिटो हिड्नेहरुले तीन दिनमा यात्रा सकेको पनि पाइयो । हाम्रो समूहले चार दिन लगायौं भने पाँच, छ दिन लगाउनेहरु पनि बाटोमा भेटिन्थे । हिड्नुको मज्जा नै बेग्लै छ । तर हिड्न गाह्रो छ, समय कम छ भन्नेहरुका लागि हेलिकप्टरको सुविधा छ । हेलिकप्टरमा जानेहरुका लागि २० मिनेटको उडान पछि आधाघण्टा गोसाईंकुण्डमा नुहाउने समय हुन्छ, अनि फर्कन मिल्छ । एक जनाको २५ हजारको हाराहारीमा हेलिकप्टर सुविधा लिन सकिन्छ ।

हिउँदको तीन चार महिनाको समय पुरै हिउँले ढाकिने गोसाईंकुण्डलाई केवल जनैपूर्णिमा र गंगादशरा पर्वमा मात्र भ्रमण गर्ने होइन अन्य महिनाहरुमा पनि भ्रमण गर्ने गरी सेवा सुविधाहरुको सनिश्चितता गर्न पनि जरुरी देखिन्छ । पर्यटन व्यवशाय भनेको विश्वासमा चल्ने ब्यवशाय हो । पैसा तिरेर लिने सुविधाको ग्यारेन्टी गर्नु व्यवशायीक धर्म हो ।

स्थानीयहरुलाई पर्यटन सम्बन्धि तालिम दिने, व्यवशायीक दक्षताको विकास गर्ने, स्थानीय उत्पादनको खपत गर्ने वातावरणको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिन सके त्यसको प्रतिफल स्थानीय स्तरमा नै जान्छ । धार्मिक, साँस्कृतिक, भौगोलिक, प्राकृतिक रुपमा अलग्गै पहिचान र महत्व बोकेको गोसाईंकुण्ड र पदमार्गका क्षेत्रहरुलाई संरक्षण र सम्बद्र्धन गर्न सबैले सहयोग गर्नु पनि जरुरी हुन्छ ।