१४ भाद्र २०८३, आईतवार
,
Latest
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत्को लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी



अ+ अ-

कुश्मा । गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कँदा छोरालाई देख्नुहुन्न । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उहाँलाई केही छिनमा कसैले “तिम्रो छोरोलाई करेन्ट लाग्यो, बेहोस भएको छ”, भनेर फोन गरिदियो ।

यो खबरले उहाँ अर्धचेत अवस्थामा पुग्नुभयो । त्यसपछि छोरालाई चार महिना काठमाडौँको अस्पताल भर्ना गरियो । पछि फूलमाया छोरासँगै कुश्मा फर्कनुभएको छ । उपचारपश्चात छोराले नयाँ जिन्दगी पाएकामा फूलमाया मुस्कुराउन खोजे पनि छोराको अवस्था देखेर बेला–बेला भक्कानिनुहुन्छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको लापरबाहीका कारण छोराको दाहिने हात नै काटेर फाल्नुपरेको छ ।

अतिविपन्न अवस्था भएकी फूलमायालाई छोराको भविष्यले चिन्तित बनाउने गरेको छ । “मेरो छोराको भविष्य बर्बाद भयो । अप्ठ्यारो र गाह्रो काम गरेर खान नसक्ने भयो”, छेउमै रहेको छोरातिर आँशु भरिएका आँखाले हेर्दै भन्नुहुन्छ । उहाँको ‘श्रीमान् बेपत्ता भएको पनि आठ वर्ष भइसक्यो । उहाँका दुई छोरी छन् । श्रीमानले छाडेर बेपत्ता भएका कारण आजसम्म पनि फूलमाया नागरिकताविहीन हुनुहुन्छ ।

सनम साथीहरूसँग खेल्नेक्रममा गुप्तेश्वर गुफा जाने बाटो छेउमै जोखिमपूर्ण अवस्थामा रहेको विद्युत् ट्रन्सर्फमरमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । स्थानीयवासीले पटक–पटक जोखिमपूर्ण ट्रन्सर्फमर लाइनको बारेमा जानकारी गराए पनि विद्युत् प्राधिकरणले चासो नदेखाएकामा स्थानीयको आक्रोश छ ।

“बच्चाबच्चीले सजिलै भेट्ने ठाउँमा ट्रन्सर्फमर राख्नु नै विद्युत्को गल्ती हो”, स्थानीय राजन गुरुङले भन्नुभयो, “कमसेकम तारबार लगाएर सुरक्षित तरिकाले राख्नुपथ्र्यो, त्यो गरेका छैनन् ।” घटना भएपछि पनि पहिलेकै जसरी जोखिमपूर्ण अवस्थामै ट्रन्सर्फमर छाडिएको छ । यसले थप दुर्घटना निम्तन सक्ने भएकाले स्थानीयमा त्रास छँदैछ । केही हप्ताअघि पनि विद्युत् प्राधिकरणकै लापरबाहीका कारण जलजला गाउँपालिकाको धाइरिङमा एक महिलाले ज्यान गुमाएकी थिइन् । अन्य धेरै स्थानीयवासी घाइते भएका थिए ।

घटना भएको समय विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र शाखाले लापरबाही भएको स्वीकार गर्दै क्षतिपूर्ति उपलब्ध गराउने बताए पनि अहिले भने क्षतिपूर्ति रकम दिन ढिलाइ गरिहरेको छ । “उपचार खर्चको बिल लिएर कार्यालय जाँदा उल्टै तपाईँको छोराको गल्ती छ भन्दै ठाडो जवाफ लगाउनु हुन्छ”, फूलमायाले भन्नुभयो, “थप उपचारका लागि छोरालाई महिनैपिच्छे काठमाडौँ लानुपर्ने हुन्छ । विद्युत्ले पूर्ण उपचार सकिसकेपछि मात्र पैसा दिने हो भन्छ, मसँग पैसा छैन । छोराको थप उपचार कहाँको पैसाले गरुँ ?”

यता नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले सबै उपचार सकेपछि अन्तिममा मात्र एकैपटक बिलअनुसारको रकम दिन मिल्ने बताएको छ । “उहाँले अहिलेसम्मको उपचार खर्चको पैसा माग्नुभएको छ”, पर्वत वितरण केन्द्रका प्रमुख शिवकुमार गोशेलीले भन्नुभयो, “उहाँले उपचार अझ बाँकी रहेको बताएका कारण हामीले उपचार सकेपछि मात्र रकम उपलब्ध गराउने भनेका हौँ”, उहाँले किस्ताबन्दीमा उपचार खर्च उपलब्ध गराउन नसकिने बताउनुभयो ।

फूलमाया छोराको उपचारमा रु चार लाख खर्च भएको बताउनुहुन्छ । काठमाडौँको कान्तिबाल अस्पताल र साँघुको सुश्मा कोइराला मेमोरियल अस्पतालमा छोराको उपचार भएको उहाँको भनाइ छ । आफ्नो आर्थिक अवस्था देखेर अस्पतालले उपचारमा धेरै नै छुट दिएको उहाँले बताउनुभयो । “रु नौ लाखभन्दा बढी नै उपचार खर्च लागको थियो”, उहाँले भन्नुभयो, “म रोइकराइ गरेपछि उहाँहरूले छुट दिुनुभयो ।” रासस