१४ भाद्र २०८३, आईतवार
,
Latest
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका निमित्त उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती विमानस्थलमा नयाँ टावर टर्मिनल भवन निर्माणार्थ ठेक्का लगाउन प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेको छ ।

ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाजको सिट सङ्ख्या बढ्नुका साथै हवाईयात्रु पनि बढेकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न लागेको प्रवक्ता निरौलाले बताउनुभयो ।

उहाँले विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी ‘डिजाइन’ गरेर नयाँ टर्मिनल भवन बनाउन लागिएको जानकारी दिनुभयो । “तराई क्षेत्रका विमानस्थलका पुराना संरचना करिब जीर्ण अवस्थामा छन् । ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवनमा यात्रु व्यवस्थापन र विमानस्थलको अत्यावश्यक सुविधा विस्तार गर्न कठिन हुने भएकाले आधुनिक सुविधासम्पन्न टर्मिनल भवन बनाउन प्राधिकरणले प्रक्रिया थालेको छ”, उहाँले भन्नुभयो ।

बहुवर्षीय कार्यक्रमअन्तर्गत ती विमानस्थलका टर्मिनल भवन बनाइनेछ । यसमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन करिब रु नौ अर्ब लगानी हुने प्राधिकरणले जनाएको छ । ती भवनमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहित हुनेछ । आन्तरिकमा पसलकबलसहितको एयर कण्डिसन, खुला र फराकिलो हुने गरी बनाइने छ । एक महिनाको सूचनापछि मूल्याङ्कन गरेर दुई महिनाभित्रै ‘अवार्ड’ हुनेछ ।

प्राधिकरणका प्रवक्ता निरौलाले चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरु हुने र तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । निर्माणाधीन जुम्ला, तुम्लिङटार र साँफेबगरको काम सकिन लागेको छ । जुम्लाको टर्मिनल भवन अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्राधिकरणका अनुसार मुलुकमा हाल तीन अन्तर्राष्ट्रियसहित जम्मा ५३ विमानस्थल निर्माण भएका छन् । तीमध्ये अहिले ३३ विमानस्थल सञ्चालनमा रहेका छन् भने बाँकी २० विमानस्थल निर्माण भएर पनि सञ्चालन भएका छैनन् । हालसम्म ४० विमानस्थल कालोपत्र गरिएका छन् । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । पोखरा क्षेत्रीय विमानस्थल आगामी सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर अहिले आन्तरिकमा ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २६ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।