२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले परित्याग गरेका ई. शुसान्त श्रेष्ठद्वारा काठमाडौं–५ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा



अ+ अ-

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का नेता ई.शुसान्त श्रेष्ठले पार्टी परित्याग गरि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं–५ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले विगत ४ वर्षदेखि नै यस पटकको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न सक्षम युवाहरुको समूह बनाएर तयारी गरिरहेको स्मरण गराए । उनले भने,‘देशका विभिन्न क्षेत्रमा अनुभव बटुलेका युवा साथीहरूले यो अभियानमा काम गरिरहनुभएको छ ।’

उनले नेपालमा गणतन्त्र स्थापनाको भएको १४ वर्षभन्दा बढि समय बितिसक्दा पनि जनताको अवस्थामा सुधार नभएको गुनासो पोखे । उनले भने,‘देशमा गणतन्त्र स्थापना भएको लामो समयसम्म नेपालका राजनीतिक दलले जनतामा चिल्ला नारामात्रै बाडिरहे, हामी जनताले पत्याईरह्यौं । जनताको अवस्था न कहिल्यै सुधार भयो न हुने छाँट नै देखियो ।’

उनले व्यवस्था परिवर्तनका लागि प्राणको परवाह नगरी लडेका राजनीतिक दल सत्तामा पुगेपनि आफ्नो मात्र प्रगति सोचेको आरोप लगाए । नेताहरुले आफ्नाबाहेक जनताको समृद्धिका निम्ति काम नगरेको उनको भनाई थियो ।

श्रेष्ठले २५ वर्षको हुँदादेखि एमालेमा सक्रिय भएर काम गरेको उल्लेख गर्दै पार्टी सुधार्न पटक–पटक आवाज उठाएपनि पार्टीको अवस्था अहिलेसम्म उस्तै रहेको गुनासो पोखे । उनले आफ्नो जीवनको उर्जावान समयमा देशका निम्ति केही गर्ने सोच बनाएपनि युवाहरुलाई दलका नेताले मुठ्ठीमा राख्न खोजेको उनको भनाई छ ।

उनले पार्टीमा युवाहरुको सीप क्षमताअनुसारको सल्लाह केही सिमित नेताहरुले मात्र सुनेपनि नीति निर्माण गर्नेहरुले जनतालाई सर्वोपरी नठानेको भन्दै दुःखेसो पोखे ।

भगवान श्री पशुपतिनाथको कसम खाँदै उनले जनताको प्रत्येक मतको कदर गर्ने विश्वास दिलाए । उनले भने,‘म जनताको प्रत्येक मतको कदर गर्छु । व्यक्तिगत स्वार्थका निम्ति पदको दुरूपयोग गर्दिनँ । प्रत्येक मतदाताको सुझाब लिन्छु र जनताको सुझाबलाइ आत्मसात् गर्दै उहाँहरुको समस्याको समाधानका उपाय खोज्छु, र जनताको आवाजलाई लिएर संसद्मा खरो रुपमा प्रस्तुत हुन्छु ।’

उनले केही ठोस योजना समेत घोषणापत्रमा उल्लेख गरेका छन् । उनले अघि सारेका योजनामा सामाजिक क्रियाशिलता, पारदर्शिता र जवाफदेहिता, प्रविधिमैत्री सेवा, उद्यमशिलता र शिक्षा, सांस्कृतिक नीति रहेका छन् ।