१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू बाचुञ्जेल अनाथ आश्रमलाई वर्षेनी रु १ लाख सहयोगको घोषणा



अ+ अ-

काठमाडौँ । समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

उहाँले सो आश्रमलाई आफू बाचुञ्जेल प्रत्येक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नुुभयो । चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा आइतबार आयोजित एक समारोहमा समाजसेवी ढुङ्गानाले तुलसालय आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

समाजसेवी ढुङ्गानाले उक्त तुलसालय आश्रमले अनाथ एवं अपाङ्गता भएका बालबालिकाका साथै ज्येष्ठ नागरिक र मानसिक रोग भएकाको उद्धार र लालनपालन गरेको आफूले फेसबुकबाट जानकारी पाएर सो रकम सहयोग गरेको बताउनुभयो । उहाँले आफू बाचुञ्जेल अब हरेक वर्ष रु एक लाख आर्थिक सहयोग सो आश्रमलाई उपलब्ध गराउने पनि सोही कार्यक्रममा घोषणा गर्नुभयो ।

उक्त आश्रमले अनाथ एवं असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा मानसिक रोग भएकालाई चाँगुनारायण र ललितपुर महानगरपालिका– २५ स्थित नख्खुटोलमा अलग अलग राखेर लालनपालन एवं शिक्षादीक्षा प्रदान गर्दै आएको छ ।

हाल सो आश्रममा रहेका २६ बालबालिका विद्यालय जाने गरेका छन् भने विभिन्न उमेर समूहकाका ४४ जना उद्धारपछि आश्रममा आश्रित रहेका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये केहीलाई पुनःस्थापना गरिएको छ ।

उहाँले आश्रममा रहेका बालबालिकालाई राम्रो शिक्षादीक्षा दिन तथा मानसिक रोग भएकालाई उपचार सेवासमेतका लागि आर्थिक अभाव रहेका बेला आएको सो सहयोग र प्रतिबद्धताका लागि समाजसेवी ढुङ्गेलललाई धन्यवाद दिनुभयो ।

सडकमा अलपत्र अवस्थामा भेटिएका यस्ता अनाथ एवं असहाय बालबालिका तथा विभिन्न उमेर समूहका नागरिकलाई प्रहरीले आश्रममा ल्याइदिने तर नेपाल सरकार तथा स्थानीय सरकारले आफ्नो दायित्व बहन गरी यस्ता आश्रमलाई कुनै आर्थिक सहयोग नगर्ने भएकाले आश्रममा आश्रितको लालनपालनमै गाह्रो हुँदै गएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

सो आश्रममा सातौँ छोरीका रुपमा जन्म लिएर पाँच मिनेटमा नै आमा गुमाउन पुगेकी हुम्लाकी आठ महिनाकी स्तुतिदेखि चिकित्सकका रुपमा २८ वर्षसम्म नेपाल सरकारको सेवा गरेका ६४ वर्षीय डा भगवानभक्त श्रेष्ठसम्म आश्रित छन् ।