१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हराउन थाले ऊनका कपडा

हराउन थाले ऊनका कपडा
अ अ+ अ-

बलेवा । तमानखोला गाउँपालिका–३ की छलिमाया बुढाथोकी ऊनका कपडा बनाउन सिपालु हुनुहुन्छ । ऊनका कपडा बनाउन ६६ वर्षीया बुढाथोकीले कलिलै उमेरमा सीप सिक्नुभएको हो । बजारका कपडाको प्रचलन नरहेका समयमा उहाँको परिवारले भेडाको ऊन निकाल्ने, त्यसबाट धागो कात्ने र कपडा बनाउने काम गर्ने गर्नुहुन्थ्यो ।

आफ्नो घरका लागि आवश्यक ऊनका कपडा पुर्‍याएर उहाँहरुले गाउँलेसँग अन्न साट्ने गरेको सम्झना छ । बुढाथोकीसँग “उबेला कपडाको दुःख थियो, ऊनीका कपडाले सग्लो जाडो जान्थ्यो”, बुढाथोकीले भन्नुभयो, “अहिले त बाबु ऊनी पाउन पनि गाह्रो छ, कपडा बुन्न छोडिसकेँ ।” आफू सानो हुँदा गाउँमा धेरै महिला पुरुषले भेडाको ऊनबाट स्वीटर, काम्लोलगायतका कपडा बुन्ने गरेको ताजै सम्झना छ उहाँसँग । साठी वर्ष पहिलेको समयमा अहिले जस्तो बजारका राम्रा कपडा गाउँमा पुग्दैनथे । त्यसैले प्रचलनमा भेडाको ऊनबाट स्थानीयस्तरमा नै कपडा बुन्ने गरेको उहाँको अनुभव छ ।

“डसना त्यही भेडाको ऊन कातेर बनाइएको कपडाको हुन्थ्यो, ओड्ने कम्बल पनि त्यहीँबाट बनाइन्थ्यो”, उहाँले पुराना दिन सम्झँदै भन्नुभयो, “अहिले ऊनका कपडा गाउँमा देख्नै छाडियो ।” गाउँमा भेडा पाल्ने प्रचलन बिस्तारै हराएसँगै ऊन पाउन पनि कठिन हुने गरेको उहाँको अनुभव छ । स्थानीयस्तरमा नै बनाई कपडाको उत्पादन र प्रयोग घटेकामा आफूलाई चिन्ता लागेको उहाँले बताउनुभयो ।

ऊनका कपडा बनाउने प्रविधि र सीप गाउँका पाका पुराना मानिससँग अझै पनि रहेको छ तर त्यसको प्रयोग कम हुने गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । “अचेल ऊनको कपडाभन्दा बजारको कपडा सस्तो हुन्छ, मान्छे त्यही प्रयोग गर्न थाले”, बुढाले भन्नुभयो, “हामीले व्यावसायिक ऊन उत्पादन गर्नेलाई प्रोत्साहन गर्न सक्छौँ ।”

मासु र ऊन दुवैको उत्पादन बढाउनका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ४० जना भेडापालक किसानलाई गोठ सुधारका लागि अनुदान उपलब्ध गराएको बुढाले बताउनुभयो । मेहनत धेरै लाग्ने, ऊन धेरै लाग्ने बजारमा मूल्य नपाउने समस्याका कारण भेडाको ऊनबाट कपडा बनाउने सीप भएका पनि विस्थापित हुने अवस्थामा पुगेका हुन् । ऊनबाट तयार भएको कपडा अत्यन्त न्यानो हुने भएकाले बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनका केही ठाउँमा जाडो छल्न यसकै प्रयोग गरिन्छ । 

यसलाई आधुनिकीकरण गर्नसके स्थानीयले राम्रो आम्दानी गर्नसक्ने स्थानीय योगेन्द्र सिपाली बताउनुहुन्छ । भेडाको ऊनबाट चर्खा र फिर्केको सहायताले धागो तयार गरेर कपडा बनाउने प्रचलन बागलुङमा बिस्तारै हराउन थालेको हो । त्यसो त अहिले गाउँमा भेडा पाल्ने मानिसमा पनि कमी आएको छ । व्यावसायिकरुपमा बाख्रापालनमा लाग्ने त गाउँघरतिर अहिले पनि छन् तर बाख्राबाट कपडाका लागि उन उत्पादन हुँदैन । 

त्यसैले एकातर्फ भेडापालन गर्नेको सङ्ख्या घटेको छ भने अर्कातर्फ अहिले बजारका कपडा सस्तोमा आउने र जस्तो चाह्यो त्यस्तै उपलब्ध हुने भएकाले पनि मानिस यी ऊनका कपडामा कम रुचि देखाउने गरेका छन् । त्यस्तै ऊनका कपडाको उत्पादनलाई आधुनिकीकरण गर्ने, सङ्गठितरुपमा यस्ता कपडा उत्पादन गर्ने तथा ग्रामीणस्तरमा पनि सरकारको अग्रसरतामा साना उद्योगका रुपमा विकास गर्ने अवधारणा पनि विकास हुनसक्दा पनि ऊनका कपडाको उत्पादनले व्यावसायिकस्वरुपमा लिन नसकेको हो । 

ग्रामीण तहमै उत्पादन हुने यस्ता परम्परागत उनका कपडा बजारमा उपलब्ध हुनेभन्दा टिकाउ र न्यानो पनि हुने गर्दछ । तर हातैले बुन्ने गरेकाले मेसिनले उत्पादन गरेका बजारका कपडाको तुलनामा भने आकर्षक नहुन सक्छ । यसका कारण पनि अहिलेको पुस्ता टिकाउ र न्यानोभन्दा पनि राम्रा र आकर्षक पहिरनतर्फ आकर्षित हुनाले पनि यी कपडाको उत्पादनतर्फ ध्यान नपुगेको हुनसक्छ । (रासस, तारानाथ आचार्य)