• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल ★   डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री दाहाल ★   माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा ★   पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द ★   बाजुरामा भाइरल ज्वरोको कारणले दुई जनाको मृत्यु ★   गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ ★   सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल ★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै

हराउन थाले ऊनका कपडा



बलेवा । तमानखोला गाउँपालिका–३ की छलिमाया बुढाथोकी ऊनका कपडा बनाउन सिपालु हुनुहुन्छ । ऊनका कपडा बनाउन ६६ वर्षीया बुढाथोकीले कलिलै उमेरमा सीप सिक्नुभएको हो । बजारका कपडाको प्रचलन नरहेका समयमा उहाँको परिवारले भेडाको ऊन निकाल्ने, त्यसबाट धागो कात्ने र कपडा बनाउने काम गर्ने गर्नुहुन्थ्यो ।

आफ्नो घरका लागि आवश्यक ऊनका कपडा पुर्‍याएर उहाँहरुले गाउँलेसँग अन्न साट्ने गरेको सम्झना छ । बुढाथोकीसँग “उबेला कपडाको दुःख थियो, ऊनीका कपडाले सग्लो जाडो जान्थ्यो”, बुढाथोकीले भन्नुभयो, “अहिले त बाबु ऊनी पाउन पनि गाह्रो छ, कपडा बुन्न छोडिसकेँ ।” आफू सानो हुँदा गाउँमा धेरै महिला पुरुषले भेडाको ऊनबाट स्वीटर, काम्लोलगायतका कपडा बुन्ने गरेको ताजै सम्झना छ उहाँसँग । साठी वर्ष पहिलेको समयमा अहिले जस्तो बजारका राम्रा कपडा गाउँमा पुग्दैनथे । त्यसैले प्रचलनमा भेडाको ऊनबाट स्थानीयस्तरमा नै कपडा बुन्ने गरेको उहाँको अनुभव छ ।

“डसना त्यही भेडाको ऊन कातेर बनाइएको कपडाको हुन्थ्यो, ओड्ने कम्बल पनि त्यहीँबाट बनाइन्थ्यो”, उहाँले पुराना दिन सम्झँदै भन्नुभयो, “अहिले ऊनका कपडा गाउँमा देख्नै छाडियो ।” गाउँमा भेडा पाल्ने प्रचलन बिस्तारै हराएसँगै ऊन पाउन पनि कठिन हुने गरेको उहाँको अनुभव छ । स्थानीयस्तरमा नै बनाई कपडाको उत्पादन र प्रयोग घटेकामा आफूलाई चिन्ता लागेको उहाँले बताउनुभयो ।

ऊनका कपडा बनाउने प्रविधि र सीप गाउँका पाका पुराना मानिससँग अझै पनि रहेको छ तर त्यसको प्रयोग कम हुने गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । “अचेल ऊनको कपडाभन्दा बजारको कपडा सस्तो हुन्छ, मान्छे त्यही प्रयोग गर्न थाले”, बुढाले भन्नुभयो, “हामीले व्यावसायिक ऊन उत्पादन गर्नेलाई प्रोत्साहन गर्न सक्छौँ ।”

मासु र ऊन दुवैको उत्पादन बढाउनका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ४० जना भेडापालक किसानलाई गोठ सुधारका लागि अनुदान उपलब्ध गराएको बुढाले बताउनुभयो । मेहनत धेरै लाग्ने, ऊन धेरै लाग्ने बजारमा मूल्य नपाउने समस्याका कारण भेडाको ऊनबाट कपडा बनाउने सीप भएका पनि विस्थापित हुने अवस्थामा पुगेका हुन् । ऊनबाट तयार भएको कपडा अत्यन्त न्यानो हुने भएकाले बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनका केही ठाउँमा जाडो छल्न यसकै प्रयोग गरिन्छ । 

यसलाई आधुनिकीकरण गर्नसके स्थानीयले राम्रो आम्दानी गर्नसक्ने स्थानीय योगेन्द्र सिपाली बताउनुहुन्छ । भेडाको ऊनबाट चर्खा र फिर्केको सहायताले धागो तयार गरेर कपडा बनाउने प्रचलन बागलुङमा बिस्तारै हराउन थालेको हो । त्यसो त अहिले गाउँमा भेडा पाल्ने मानिसमा पनि कमी आएको छ । व्यावसायिकरुपमा बाख्रापालनमा लाग्ने त गाउँघरतिर अहिले पनि छन् तर बाख्राबाट कपडाका लागि उन उत्पादन हुँदैन । 

त्यसैले एकातर्फ भेडापालन गर्नेको सङ्ख्या घटेको छ भने अर्कातर्फ अहिले बजारका कपडा सस्तोमा आउने र जस्तो चाह्यो त्यस्तै उपलब्ध हुने भएकाले पनि मानिस यी ऊनका कपडामा कम रुचि देखाउने गरेका छन् । त्यस्तै ऊनका कपडाको उत्पादनलाई आधुनिकीकरण गर्ने, सङ्गठितरुपमा यस्ता कपडा उत्पादन गर्ने तथा ग्रामीणस्तरमा पनि सरकारको अग्रसरतामा साना उद्योगका रुपमा विकास गर्ने अवधारणा पनि विकास हुनसक्दा पनि ऊनका कपडाको उत्पादनले व्यावसायिकस्वरुपमा लिन नसकेको हो । 

ग्रामीण तहमै उत्पादन हुने यस्ता परम्परागत उनका कपडा बजारमा उपलब्ध हुनेभन्दा टिकाउ र न्यानो पनि हुने गर्दछ । तर हातैले बुन्ने गरेकाले मेसिनले उत्पादन गरेका बजारका कपडाको तुलनामा भने आकर्षक नहुन सक्छ । यसका कारण पनि अहिलेको पुस्ता टिकाउ र न्यानोभन्दा पनि राम्रा र आकर्षक पहिरनतर्फ आकर्षित हुनाले पनि यी कपडाको उत्पादनतर्फ ध्यान नपुगेको हुनसक्छ । (रासस, तारानाथ आचार्य)