• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु ★   चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द ★   सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास ★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर

पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री



काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राजधानीमा लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एनएचपिसीबीच उक्त परियोजनाअघि बढाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ४० वर्षदेखि चर्चामा रहेको उक्त आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो ।

“उक्त आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई म निर्देशन दिन्छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “सरकारको तर्फबाट आयोजना विकासका लागि सबै प्रकारको सहयोग उपलब्ध हुन्छ, लगानीमैत्री वातावरण बनाउन वर्तमान सरकारले अधिकतम प्रयास गरिरहेको छ ।” प्रधानमन्त्री देउवाले नेपालको विकासको गति अघि बढिरहेको जानकारी गराउँदै गत चैतमा सम्पन्न आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सहमति भएको स्मरण पनि गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा यस परियोजना विकासका सम्बन्धमा महत्वपूर्ण छलफल भएको र यो त्यसैको निरन्तरताको रूपमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालको ऊर्जा विकासका लागि भारत सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताउनुभयो । केही अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् व्यापारका लागि सरकार लागि परेको पनि उहाँले जानकारी दिनुभयो ।

विद्युत् व्यापारका लागि भारतीय बजार खुला भएको र सोही आधारमा निर्यात सुरु गरेको पनि जानकारी दिँदै प्रधानमन्त्री देउवाले अहिले बढी भएको बिजुली निर्यातका लागि छिट्टै भारतीय बजार खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतबीच सदियौँदेखि जनस्तरबाटै बलियो सम्बन्ध रहेको पनि स्मरण गर्नुभयो ।

प्रधानमन्त्री देउवाको समुपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र भारतीय कम्पनी एनएचपिसीका सिएमडी एके सिंहबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालको भौतिक पूर्वाधारको विकासमा बोर्डले निरन्तर काम गरिरहेको र सोही कार्यक्रमअन्तर्गतकै यो महत्वपूर्ण समझदारी भएको बताउनुभयो ।

कम्पनीका सिएमडी एके सिंहले आजदेखि नयाँ यात्राको थालनी गरेको उल्लेख गर्दै समयमै उक्त परियोजना निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, वन तथा वातावरणमन्त्री प्रदीप यावद, सुदूरपश्चिम प्रदशेका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको उपस्थिति रहेको थियो । रासस