• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी छ । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका सम्बन्धमा बैठकमा छलफल भइरहेको छ ।

सत्ता साझेदार दलहरुले सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदलसमेत गठन गरिसकेको छ । तर कार्यदलले सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा कार्यदलका संयोजक सिटौलाले कार्यदलमा अहिलेसम्म भएका छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने बताइएको छ ।

सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरुको बैठकले गत साउन २० गते आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलका संयोजक सिटौलालाई शीर्ष नेताहरुको सो बैठकले साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिए पनि कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन सकेन ।

कार्यदलमा नेपाली कांग्रेसबाट संयोजकमा सिटौलासहित सदस्यहरुमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।