• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

म्याग्दीको खयर भारानी धार्मिक पर्यटकको केन्द्र बन्दै



बेनी । अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने यस क्षेत्रमा अहिलेसम्मकै धेरै धार्मिक पर्यटक सहभागी भएका छन् ।

जिल्ला सदरमुकाम बेनी बजारदेखि तीन दिनको यात्रामा पुग्न सकिने यस धार्मिक स्थलमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । समुद्री सतहदेखि करिब चार हजार ७०० मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि यस पटकको जनैपूर्णिमामा मात्रै ७०० भन्दा बढी भक्तजन सहभागी भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताउनुभयो । उहाँका अनुसार यसवर्ष म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायत ठाउँबाटसमेत भक्तजनको यस स्थलमा उल्लेख्य सहभागिता थियो ।

खासगरी सन्तान प्राप्ति, रोकिएका काम अघि बढाउन र सु–स्वास्थ्यलगायजस्ता भाकल गर्नेहरु यहाँ आइपुग्ने गर्छन् । खयर भारानी थानमा पूजा र खयर तालमा भाकल गरेर बर मागेकाहरुले आफ्नो मनोकांक्षा पूरा भएपछि पनि भाकल गरेर बर मागे बमोजिमको पुनः पूजा गरी बर फिर्ता गर्ने चलन रहेको स्थानीय समाजसेवी राजु पुनले बताउनुभयो ।‘‘ सन्तान नभएका धेरैले यहाँ भाकल गरेपछि सन्तान पाउनुभएको छ, रोकिएका काम समाधान भएको भनेर धेरैले खुसी व्यक्त गर्नुभएको छ, त्यसैले हरेक वर्ष यहाँ आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ,’’ उहाँले भन्नुभयो ।

यहाँ वर्षौ पहिले भाकल गरेकाले आफ्नो मनोकांक्षा पूरा भएपछि पुनः पूजा र भाकल फिर्ताको लागि समेत आइपुग्ने गरेका थिए । खयर भारानीमा पुगेर भाकल गरेपछि मनोकांक्षा पूरा भएको तर पनि विविध कारणले २० वर्षपछि पुनः खयर भारानीमा पूजा गर्न आएको रघुगङ्गा गाउँपालिका–२ की निर्मला भण्डारीले बताउनुभयो । पोखरा फूलबारीबाट चार दिन लगाएर खयर भारानी पुग्नुभएका हितबहादुर गर्वुजाले आफ्नो छोराको लाहुरेमा भर्ती हुने सपना साकार होस् भनेर भाकल गरेको बताउनुभयो ।

‘‘धेरैलाई खयर भारानीले पु¥याउने गरेको कुरा सुने, छोराको सपना पूरा होस् भनेर यहाँ आएर भाकल गरेको छु, यहाँ आएका धेरैले आफ्नो मनोकांक्षा पूरा भएको अनुभव सुनाउनुभएको छ, भाकल पूरा भएपछि फेरि आउँछु’’–गर्वुजाले भन्नुभयो । विगतका दुई वर्षमा कोरोना महामारीका कारण भाकल गर्न र भाकल पूरा भएपछि बर फिर्ता गर्न नपाएका कारण यसवर्ष उल्लेख्य रुपमा भक्तजनको आगमन भएको कोषले जनाएको छ ।

पहाड र जङ्गलको बाटो हुँदै हिमालको फेदीमा रहेको खयर भारानी थान र खयर तालमा पुग्न पछिल्लो समय पाउद्धारदेखि खोप्रा–खयरखोला हुँदै खयरलेकसम्म नै पदमार्ग, चौतारा र खानेपानीको धारा निर्माण गरिएकाले भक्तजनलाई सहज भएको छ । पाउद्वार–खोप्रा–खयरखोला हुँदै खयरलेकसम्मको करिब तीन दिनको पदयात्राको बाटोमा समुदायकै अग्रसरता र लगानीमा पदमार्ग, चौतारा र खानेपानीको धारालगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको सुविधाका लागि खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले खोप्रा र खयरखोलामा अस्थायी आवासगृहसहित खाना र खाजाकोसमेत बन्दोबस्त मिलाएको कोषका व्यवस्थापन संयोजक मीनबहादुर तिलिजा पुनले बताउनुभयो ।

‘‘हिमालको काखमा रहेको थानमा पुग्न हिजोका दिनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले अधिकांश जोखिमयुक्त ठाउँमा पदमार्ग बनिसकेको छ, बाँकी ठाउँमा पनि पदमार्ग बनाउने योजना अघि बढिरहेको छ, जनैपूर्णिमामा मात्रै नभएर अन्य समयमा समेत भक्तजन र पर्यटक यस क्षेत्रमा आउने प्रचलन बढिरहेको छ, खयरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने अभियानले सार्थकता पाउँदै गएको छ’’–उहाँले भन्नुभयो । आँखै अगाडि देखिने हिमाल, डाँडाकाँडा र हिमाली भू–बनोट खयर पदमार्गको थप आकर्षण हो ।

यस पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, बराह शिखर, गुर्जा, चुरेनलगायत हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोकांक्षा पूरा हुने र रमणीय प्राकृतिक सौन्दर्यमा घुमफिर र रमाउनका लागि हरेक वर्ष खयरक्षेत्र पुग्नेको सङ्ख्या बढ्दै गएको छ । रासस