२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा गाईजात्राको रौनक (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ । विगत दुई वर्षकोभन्दा यसपटक राजधानी सहरमा गाईजात्रा रौनक बढेको देखिन्छ । विगत दुई वर्ष कोरोना महामारीको त्रासका कारण गाईजात्रा भव्य हुन सकेको थिएन । विसं २०७७ / २०७८ मा गाईजात्राको विधिमात्र पूरा गरिएको थियो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ । यसैले वसन्तपुर दरबार क्षेत्रमा गाईजात्राको विशेष उत्सव हुने गर्छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको हो ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउनुहुन्छ ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उहाँको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।

गाईजात्राको दोस्रो दिन भने राजधानीका विभिन्न स्थानमा रोपाइँजात्रा मनाइन्छ । यस वर्ष तिथिको घटबढका कारण रक्षाबन्धन र गाईजात्रा पर्व एकैदिन परेको छ । आज बिहान सूर्योदयकालमा पूर्णिमा तिथि र ७ः३० सात बजेपछि भाद्रकृष्ण प्रतिपदा तिथि लागेकाले दुवै पर्व आजै मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।