• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षामन्त्री पौडेलको आग्रह



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठि’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो । उहाँले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतीबाट हल खोज्नुपर्ने बताउनु भयो ।

उहाँले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो । एकपटकका लागि प्राध्यापकहरुको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, एकपटक अर्थ मन्त्रालयसँग छलफल गरेर यस प्रकारका सम्पूर्ण समस्याहरु क्लोजिङ गरौँ । त्यसपछि सबै प्रतिष्पर्धा गरेर आउने, शिक्षक चाहीँ शिक्षक सेवा आयोगबाट प्रतिष्पर्धा गरेर आउने, प्राध्यापकहरु विश्वविद्यालय सेवा आयोगमा प्रतिष्पर्धा गरेर आउने प्रणाली स्थापित नहुँदासम्म योग्य प्राध्यापक निर्माण गर्न सक्दैनौँ । यसको अर्थ अहिलेको समस्याहरु समाधान नगर्ने भनेको होइन । एकपटक हल गरेर सुल्झायाँै भने जहिलेसुकै व्ययभारको रुपमा अर्थ मन्त्रालयमा यो आउँदैन । यी समस्याहरु हल गर्नको निम्ति प्राध्यापक संगठनहरुले बेला बखत कुरा उठाउनुभएको छ । यहाँहरुसँग अनुरोध के छ भने विश्वविद्यालयका पदाधिकारीहरु, विद्यार्थीहरु, कर्मचारीहरु, प्राध्यापकहरु विश्वविद्यालयसँग सम्बन्धित, पठन–पाठनसँग सम्बन्धित सम्पूर्ण मागहरु, सम्पूर्ण विषयहरु वार्ता, सहमती, सम्वादको प्रक्रियाद्वारा हल गर्नु हुनेछ । कृपया कसैले पनि विश्वविद्यालयमा तालाबन्दी नगरिदिनु होला ।
विश्वविद्यालयको तालाबन्दीले दाहोरो कुरा हुने भयो । विश्वविद्यालयका पदाधिकारीहरुलाई पनि तालाबन्दी छ । काम गर्ने कुराको निम्ति तालाबन्दी छ । काम गर्न डिस्टर्ब छ भन्नुहुन्छ उहाँहरुले । विषयवस्तु केही भयो भने, कहीँ केही एउटा पद नियुक्ति गर्नुप¥यो भने प्रतिष्पर्धा गरेर, योग्य मान्छे लिएर वार्ताद्वारा जाने कुरा अगाडी बढाइयो भने राम्रो हुन्छ । विद्यार्थीको समस्या, प्राध्यापकको समस्या आयो भने वार्ताद्वारा हल गर्ने कुरा अगाडी बढाइयो भनेदेखि हामी अगाडी बढ्नसक्छौँ ।’

शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरुलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । शैक्षिक क्यालेन्डर अनुरुप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘सबै विश्वविद्यालयहरुले प्राध्यापकहरुको सहयोगमा क्यालेन्डर प्रणाली लागु गरौँ । क्यलेन्डर प्रणाली लागू नहुँदाखेरी बेथिति भएको छ । जाँच भएको लामो समयसम्म परीक्षाको रिजेल्ट ननिस्किने, परिक्षा हुन ढिलो हुने, उच्च शिक्षामा नेपालको पठन पाठन नियमित छैन भन्ने बाहिर म्यासेज गएको छ । विशेष अनुरोध छ, क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गरौँ । क्यालेन्डर प्रणाली लागू भयो भने विद्यार्थीलाई, युवाहरुलाई हामी भन्नसक्छौँ समयमा पढाई हुन्छ । समयमा रिजेल्ट निस्किन्छ । त्यसकारणले हाम्रो विश्वविद्यालय राम्रा छन् भन्नेकुरा उहाँहरुलाई भन्नसक्छौँ ।’

विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उहाँले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताउनु भयो ।