• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ: मन्त्री श्रेष्ठ



फाईल फोटो

कास्की ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको प्याराग्लाइडिङ विस्थापित हुनुपर्ने चिन्ताले यहाँका पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ । विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन । सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ ।”

मन्त्री श्रेष्ठले आगामी अङग्रेजी नयाँवर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभयो । हालसम्म ९८ प्रतिशत काम सकिएको विमानस्थल सन् २०२३ को जनवरी १ देखी सञ्चालनमा ल्याउने निर्णय केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका लागि समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम छिट्टै अघि बढाइने बताउनुभयो ।

सातै प्रदेशमा एक वर्षभित्रमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथुम)को कलेज स्थापना गर्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो । सुरुआतमा गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा सो कलेज स्थापनाको योजना रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएकाले पूर्ति गर्नका लागि नाथुमले सफलता प्राप्त गर्ने र पर्यटन शिक्षा चाहनेहरु काठमाडौँ जानुपर्ने अवस्था अन्त्य हुने विश्वास मन्त्री श्रेष्ठको छ । प्रदेशमा नाथुम कलेज स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो ।