• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

१०० सिटभन्दा तल सम्झौता नगर्न कांग्रेस नेतृत्वलाई कार्यकर्ताको दवाब



काठमाडौं । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँटको सकस भइरहेका बेला नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरुले भने १०० सिटभन्दा तल झरेर सम्झौता नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेसले १०० वा सोभन्दा केही बढी राख्नु पर्ने र बाँकी सिट अन्य दललाई दिनुपर्ने भन्दै पार्टी नेतृत्वलाई उनीहरुले सुझाव दिएका हुन् ।

यो अभियानका क्रियाशील एक केन्द्रीय सदस्यले न्यूजपोलारसँग भन्नुभयो, “गठबन्धन भनेको शक्तिहीन र संगठन नभएकाहरुलाई सधैँ काँध थाप्नु मात्र होइन, हैसियतअनुसारको दिनुपर्छ, बढी भाग खोजे एक्लै निर्वाचनमा जान तयार हुनुपर्छ ।”

सभापति शेरबहादुर देउवा निटक ती केन्द्रीय सदस्यले भन्नुभयो, “स्थानीय तहको निर्वाचनका बेला कांग्रेसको शक्तिका कारण माओवादी केन्द्र केही बलियो देखियो तर नेकपा एकीकृत समाजवादीको खासै संगठन र प्रभाव देखिएन, त्यहाँ एमाले फुटको असर देखिएन, अन्य पार्टी पनि कमजोर नै देखिए, कांग्रेसले कति समयसम्म कमजोरहरुलाई बोकेर हिँड्ने ?”

ती केन्द्रीय सदस्यका अनुसार हाल सिट बाँडफाँटका लागि गठन भएको कार्यदलको कामको छनक आएपछि यसअघि पार्टी केन्द्रीय समितिले गरेको गठबन्धनबारेको निर्णय पनि परिवर्तन हुन सक्छ । उहाँका अनुसार कांग्रेसले दिएको सिटमा चित्त बुझाए गठबन्धन हुने नत्र मित्रवत् प्रतिस्पर्धाका लागि बाटो खुल्ला गर्ने निर्णय हुनेछ । ६०/४० को भागवण्डासम्म स्वाभाविक हुने भन्दै उहाँले भन्नुभयो, “कांग्रेसले लिएको ६० प्रतिशतमा पनि फेरि शेखर कोइराला समूहलाई ४० प्रतिशत दिनुपर्ने अवस्था छ ।”

गठबन्धनभित्र पनि उपगठबन्धन बनाउँदै कांग्रेससँग बार्गेनिङको प्रयास भइरहेको भन्दै उहाँले गठबन्धनभित्र उपगठबन्धन बन्यो भने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने र त्यो सबै पक्षका लागि हितकर हुने बताउनुभयो । उहाँका अनुसार अन्य दलका शीर्ष नेताहरुले आफू असुरक्षित भएको र स्थानीय तहमा धेरै मत बदर भएका कारण गठबन्धनभित्र बाट एउटै निर्वाचन चिह्नमा उम्मेदवार हुन पाउने प्रावधान बनाउन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएका थिए ।

गठबन्धनको निर्देशनअनुसार आयोगले केही दिनअघि एउटै निर्वाचन चिह्नमा उम्मेदवार हुन पाउने निर्णय गरेको थियो । देउवा निकट केन्द्रीय सदस्यहरुका अनुसार एकीकृत समाजवादीमा रहेका धेरै नेताहरु एमालेमा फर्कने सक्ने सुइँको सभापति देउवाले पाउनुभएको कारण सिट बाँडफाँट प्रक्रिया केही लम्बिन सक्छ । त्यसबेला माधव नेपालको आड लिएर प्रचण्डको गर्ने बार्गेनिङ पनि केही कम हुनेछ । त्यसपछि मात्र कांग्रेसले आफ्नो पोजिसन स्पष्ट गर्छ ।