१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः सिटीको सानदार सुरुवात, म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध, लेस्टरको बराबरी



अ+ अ-

एजेन्सी । यसै सिजन म्यानचेस्टर सिटी आएका नर्वेली फरवार्ड एर्लिङ हालाण्डले प्रिमियर लिग डेब्युमै दुई गोल गरेपछि साविक विजेता सिटीले लिगको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । सिटीले आइतबार राति भएको खेलमा वेस्टहाम युनाइटेडलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

उनले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ६५ औं मिनेटमा हालाण्डले केभिन डि ब्रुएनाले दिएको पासलाई गोलमा परिणत गरे । जितसँगै सिटीले पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको छ भने वेस्टहामले हारबाट लिगको सुरुवात गरेको छ ।

म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध
यस्तै, आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले पहिलो खेलमै हार ब्यहोरेको छ । वल्र्ड ट्राफोर्डमा भएको खेलमा युनाईटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । यस्तै, ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गर्दा युनाइटेडले एक गोल उपहार पायो । खेलको ३० औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा पास्कलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ६८ औं मिनेटमा ब्राइटनका एलिस्टरले आत्मघाती गोल गरेपपछि युनाईटेड २–१ ले पराजित भयो । यससँगै युनाईटेडले हारबाट सिजनको सुरुवा गरेको छ भने ब्राइटनले ३ अंक जोड्दै सिजनको सुखद सुरुवात गर्यो । युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले सिजनको पहिलो खेलमा हार व्यहोरे ।

लेस्टरले ब्रेन्टफोर्डसँग बराबरी खेल्दै अंक बाँड्यो
यस्तै, आइतबार राति नै भएको अर्को लेस्टर सिटीले बराबरी खेलेको छ । सिजनको पहिलो खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

लेस्टरले घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन सकेन । खेलको ३३ औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४६ औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा ब्रेन्टफोर्डका इभान टोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । त्यसपछि ८६ औं मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई बराबरीमामा ल्याउँदै हारबाट जोगाए । यस बराबरीसँगै लेस्टर र ब्रेन्टफोर्डले पहिलो खेलमा १–१ अंक जोडे ।