काठमाडौँ । कोरोना महामारीका वेला सबैभन्दा प्रभावित बनेको काठमाडौंको मनोरञ्जन तथा रात्रिकालीन व्यवसाय चलाउने वा बन्द गरिराख्ने सरकारले अझै सोच्न नसक्दा व्यवसायीहरु मारमा परेका छन् । सरकारले खोल्ने अनुमति नदिएपछि सबै होटेल, दोहोरीसाँझ र मनोरञ्जन क्षेत्र बन्द छन् ।
लामो समय बन्द रहेको क्षेत्रलाई सरकारले अझै पनि खोल्ने अनुमति नदिएपछि मंगलबार दोहोरी साँझ तथा काठमाडौंमा रात्रिकालीन व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर पत्र बुझाएका छन् । सरकारले अन्य व्यवसाय र क्षेत्रलाई चलायमान बनाइरहेको छ । सबैजसो पेसा, व्यवसाय र कार्यालय सञ्चालन भइरहेका छन् । तर, रात्रिकालीन व्यवसायी र तीनमा काम गर्ने व्यवसायीको मर्का नुझेको रात्रिकालीन व्यवसायीहरूको गनासो रहेको छ । दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन समितिले पनि होटेल तथा रात्रिकालीन व्यवसाय खोल्न अनुमति दिन पटकपटक अनुरोध गर्दा पनि जिल्ला प्रशासन कार्यलयले नसुनेको व्यवसायीहरुको भनाई छ ।
होटेल व्यवसाय, दोहोरी साझँ, क्लब र काठमाडौंका रात्रिकालीन व्यवसाय राम्ररी नखोलेको डेढ वर्ष भयो । चर्को भाडा तिरेर खोलिएका यी व्यवसायहरू अहिले ऋणमा डुबेका छन् । कोरोना महामारीका वेला भाडासमेत तिर्न नसकेर व्यवसायीहरू छट्पटाइरहेका छन् । तर, यी क्षेत्र कहिलेदेखि सञ्चालन हुने पत्तो भने छैन । लकडाउनको निशाना बनिरहेका यी व्यवसायहरू भने नराम्ररी धरापमा परेका छन् । गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका व्यवसायीहरुलाई छिटो भन्दा छिटो केहि निष्कर्ष निकाल्ने प्रतिवद्धता जिल्ला प्रशासन कार्यालयको रहेको छ ।
यी क्षेत्रमा कार्यरत कलाकार, मजदुरको रोजगारीसमेत गुमेको भन्दै सरकारले यसबारेमा नसोचेको उनीहरूको गुनासो छ । सबै क्षेत्रलाई सरकारले खुकुलो गर्दै लगे पनि मनोरञ्जन क्षेत्रलाई बेवास्ता गरेको भन्दै उनीहरूले पत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।