२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोसीको ३३ ढोका खोलियो



अ+ अ-

सप्तरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो ।

आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ । यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ । मध्याह्न १२ बजे कोसी ब्यारेज भएर दुई लाख दुई हजार चार सय ७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो । पानीको बहाव क्रमशः बढेसँगै ३३ ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सप्तकोशीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलङ्का टापु डुबानमा परेको छ भने सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढाको बस्ती डुबान भएसँगै विसं २०२३ मा स्थापित श्री शारदा आधारभूत विद्यालयसमेत कटान गरी बगाएको छ । विद्यालयसँगै रहेको स्वास्थ्यचौकी पनि कटानको जोखिममा छ । यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयवासीले माग गरेका छन् ।

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरूपमा बढ्ने अनुमान गरिएको छ । कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तकोसमा पुनः जलसतह बढ्न थालेकाले जलसतह सतर्कता आसपास पुग्न सक्ने र थप कटान हुनसक्ने भएकाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दामा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । रासस