१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’



अ+ अ-

काठमाडौं । खेलकुद क्षेत्रबाट राष्ट्रका लागि पदक दिलाएका विभिन्न विधाका सात खेलाडीलाई बिहीवार सर्वकालिन सम्मान गरिएको छ । रोल…
खेलकुदको अनलाईन पोर्टल हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा नेपाली खेलकुदबाट राष्ट्रका लागि विभिन्न कालखण्डमा पदक दिलाएका खेलाडीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

ललितपुरमा आयोजना भएको कार्यक्रममा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, ओलम्पिकमा छनोट चरण पार गर्ने पहिलो ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, सागमा लगातार ४ स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्ट, नेपाली क्रिकेट पूर्व कप्तान पारस खड्का र सागको एकै संस्करणमा सर्वाधिक चार स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंहलाई सम्मान गरिएको हो । सर्वकालीन सम्मानबाट सम्मानित भएका सातै खेलाडीले नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र पाएका छन् ।

सम्मानित व्यक्तित्वलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाँउपालिकाका निःवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाइ नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा खेलाडीसंघका अध्यक्ष दीपक श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित हुने मध्येका जीतबहादुर केसीले ५ दशकअघि एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउनुभएको थियो ।

उहाँले देशका लागि कास्य पदक जित्नुभएको थियो । यस्तै अर्का सम्मानित धावक वैकुण्ठ मानन्धरले सन् १९८४ मा शुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । मानन्धरले २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान अहिलेसम्म भंग हुन सकेको छैन ।

मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गर्नुभएको छ । फुटबलमा कप्तान र प्रशिक्षक दुवै रुपमा साफको स्वर्ण जित्ने खेलाडी राजुकाजी शाक्य पनि सम्मानका हकदार बन्नुभयो । सागको पहिलो संस्करण सन १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।

छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्राउँदा उहाँ टोलीको कप्तान हुनुहुन्थ्यो । प्रशिक्षकका रुपमा २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाउनुभएको थियो । यस्तै तेक्वान्दोकी एशियन च्याम्पियन संगिना वैद्यलाई पनि सम्मान गरिएको हो । २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी संगिनाले नेपालमा आयोजना भएको १९९९ को आठौं र २००४ नवौं सागमा स्वर्ण पदक जित्नुभएको छ । तेक्वान्दोकै ओलम्पिकमा छनोट चरण पार गरेर राष्ट्रका लागि ओलम्पिक खेल्ने दोस्रो खेलाडी दीपक विष्ट पनि सर्वकालिन सम्मानबाट सम्मानित हुनुभयो ।

सम्मानित हुने अर्का खेलाडी पारस खड्का हुनुहुन्छ । नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान गनिने खड्काको नेतृत्वमा नेपालले बंगलादेशमा भएको टी–२० विश्वकप २०१४ खेलेको छ । सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा खड्का कप्तान हुनुहुन्थ्यो । यस्तै तीन वर्ष अघि नेपालमा भएको १३ औं सागमा ४ स्वर्ण पदकसहित ९ पदक जितेकी गौरिका सिंहलाई पनि सम्मान गरियो ।

पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बन्नुभएको थियो । सन् २०१६ को रियो ओलम्पिकमा भाग लिँदा १३ वर्ष पुगेकी गौरिका सबैभन्दा कान्छी खेलाडी हुनुहुन्थ्यो ।