१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस– एमाले बालुवाटार बैठक सकियो, कुनै ठोस सहमति नभएको नेताहरुको भनाई



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफल विना निष्कर्ष सकिएको छ । दुई दलबीच नयाँ राजनीतिक समीकरणका लागि 'ब्रेक थ्रु' हुन लागेको अनुमान गरिए पनि बैठकमा त्यस्तो कुनै सहमति नभएको बताइएको छ ।

खासगरी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री देउवाले विपक्षी एमालेको साथ र सहयोग खोजिरहनु भएकाे छ । यसैबमोजिम बसेको सो बैठकमा पनि यही नै गर्ने भन्ने ठोस सहमति भने हुन नसकेको समाचार स्रोतले बताएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस–एमालेबीच भएको छलफलमा ठोस निष्कर्ष निस्कन नसकेको जानकारी दिनुभयो  । उहाले भन्नुभयो, ‘संसद्लाई प्रभावकारी बनाउन, संसद् सञ्चालन गर्न भूमिका निर्वाह गर्नुस् भने प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनु भएको छ । तर उहाँहरू (एमाले नेताहरू)ले प्रतिबद्धता जनाउनु भएको छैन ।’

छलफलमा एमाले अध्यक्ष ओलीले संसदमा आफूहरूले उठाएका मुद्दामा ठोस प्रगति नहुँदासम्म संसदमा आएर आफ्ना विचार राख्न कठिनाइ  हुने जिकिर गर्नु भएको थियो ।

यसै विषयमा आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुनः बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न एमालेको सहयोग खोजेका थिए । तर एमाले अध्यक्ष ओलीले भने उही पुरानै अडान दोहोराएर अहिलेको सत्ता गठबन्धन टुट्नु पर्ने तथा सभामुखमाथिको कारबाहीमा कांग्रेसको मत मागेका बुझिएको छ ।

आज संसद भवनमा जस्तै बालुवाटारमा पनि प्रधानमन्त्री देउवाले ओलीसँगको छलफलमा एमसीसीको पक्षमा उभिए आफू एमालेका मागहरूमा लचिलो हुन तयार गरेको बताएका थिए । तर पनि ओलीले पहिलेजस्तै आफ्नो पार्टीको एजेण्डका रुपमा सभामुखलाई हटाउन र वर्तमान सत्ताको गठबन्धन तोड्नु पर्ने अडान लिएका थिए ।

आजको बैठकमा नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ थिए । आज कुनै ठोस सहमति हुन नसके पनि पुनः बस्नेगरी आजको बैठक सकिएको एकजना सहभागीले बताए ।

हालसम्म औपचारिक रुपमा कायम रहेको सत्ता गठबन्धनमा रहेका दलहरुले  एमसीसी संसदबाट पारित गराउन सहयोग नगरेपछि देउवाले  प्रमुख प्रतिपक्ष दलसँग सम्बाद बढाउनु भएको हो । कांग्रेस र एमालेको बैठक भोलि उपयुक्त समयमा बस्ने बताइएको छ ।