काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सार्वभौमसत्ता सम्पन्न युक्रेनलाई नेपालले गरेको बलियो समर्थनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आभार प्रकट गर्नुभएको छ ।
राजदूत पोलिटले आज एक ट्विट गर्दै बेलायत र विश्वभरका देश रूसी आक्रमणको प्रतिरोध गर्न युक्रेनसँग ऐक्यबद्धताका साथ काम गरिरहेको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथिको अवैध आक्रमणका लागि रुसले ठूलो मूल्य चुकाउनुपर्ने उल्लेख गर्नुभयो ।
नेपालले युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्रको प्रावधान विपरीत भएको बताएको थियो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्ने बताएको थियो