• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट



डोटी । डोटीमा केही दिनयतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ । वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैरा–धुर्कोट सडकमा यातायात अवरुद्ध छन् । सडक अवरुद्ध भएर सवारी साधन चल्न समस्या भएपछि यहाँका गाउँघरका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि समस्या हुँदै आएको नारिदाङका स्थानीयवासी लक्ष्मणबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाले गाउँका सडक बन्द भए हामीलाई दैनिक उपभोग्य वस्तु खरिदका लागि पनि समस्या भएको छ, सामान्य नुन र तेल किन्न पनि हिँडेर दिपायल पुग्नुपर्ने बाध्यता छ ।”

वर्षाका कारण अवरुद्ध भएका सडक सञ्चालनका लागि पहल भए पनि वर्षा नरोकिएका कारण खुलाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको बोगटान फुड्सिल गाउँपालिका–५ का किसान देवबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा साग तरकारी तथा फलफूल प्रशस्त मात्रामा फलेका छन्, बिक्री गर्न बजार लैजान सक्ने अवस्था नभएर सबै बारीमै कुहिन थाले, किसानलाई समस्या भयो ।”

लामो समयदेखिको वर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई झनै सास्ती हुँदै आएको छ । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको उग्रतारा यातायात प्रालि दिपायल शाखाका प्रमुख किष्णराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातले सडक अवरुद्ध भए, गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सकिएको छैन, गाउँमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ ।” यतिमात्र नभई लगातारको वर्षाका कारण यहाँका नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी मोहनबहादुर पातलीले बताउनुभयो ।