• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

स्वीडेनलाई हराउँदै इंग्ल्यान्ड युरोकपको फाइनलमा



एजेन्सी । घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

गएराति ब्रामल लेन सेफिल्डमा भएको सेमिफाइनल खेलमा स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

इंग्ल्यान्डलाई फाइनलमा पुर्याउन बथ मिडले ३४, लुरी ब्रन्जले ४८, एलेसिया रुसोले ६८ र फ्रान किर्विले ७६ औं मिनेटमा गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सन् १९८४ र २००९ मा फाइनलमा प्रवेश गरेको थियो ।

तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधिजित्न बञ्चित भएको थियो ।

अब इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ । यि दुई टोली आज मध्यरातमा फाइनल प्रवेशका लागि भिड्दैछन् ।