४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

अर्थतन्त्र देखी शिक्षा, स्वास्थ्य, पर्यटन र जलवायू परिवर्तनको असरबारे राष्ट्रपतिको चिन्ता र चासो

राष्ट्रका सामु उपस्थित अहम् विषयहरूमा संविधानलाई शीरमा राखेर सबै राजनीतिक दलहरू बिच सहमति कायम हुन सक्दछ

अर्थतन्त्र देखी शिक्षा, स्वास्थ्य, पर्यटन र जलवायू परिवर्तनको असरबारे राष्ट्रपतिको चिन्ता र चासो
अ+ अ-

अर्थतन्त्रका बारेमा

आज मुलुकले सामना गर्नुपरिरहेका चुनौतीका बारेमा चर्चा गर्दा व्यापार घाटाको विद्यमान अवस्थाबाट सुरु गर्नुपर्ने भएको छ । हाम्रा उत्पादन न्यून छन् र आयातमाथिको हाम्रो निर्भरता अनियन्त्रित रूपमा बढिरहेको छ । फलस्वरूप, विप्रेषणमा निर्भर हाम्रो वैदेशिक मुद्रा सञ्चितिलाई बढ्दो आयातले निरन्तर दवाबमा राखिरहेको छ, जसबाट देशको समग्र अर्थव्यवस्थामा नै चिन्ताको बादल छाएको छ । यस विषयमा तपाईंहरूले दैनिकजसो समाचार लेखिरहनुभएको छ, सम्बन्धित पक्षलाई घच्घच्याइरहनु भएको छ ।

सत्र खर्ब रुपैयाँ वरिपरिको बजेट बनाउने हाम्रो मुलुकले करिब उन्नाइस खर्ब रुपैयाँको वार्षिक आयात गर्नु सानो चुनौती होइन । अहिले एकातिर परनिर्भर अर्थतन्त्रले मुलुकको आत्मविश्वासलाई कसरी कमजोर बनाउँछ भन्ने सम्बन्धमा जनतालाई अझै सुसूचित गर्नुपरेको छ भने‚ अर्कोतिर सरकारका तर्फबाट तत्काल सुधारका उपायहरू कडाईका साथ लागू गर्नु आवश्यक छ । केही सुरुवातहरू भएका छन्, जसलाई अझै बलियो पार्दै लैजानु पर्दछ ।

अर्थतन्त्रमा हाल देखिएका चुनौतिलाई कम गर्न तत्काल दुई उपायहरू अवलम्बन गर्नुपर्ने देखिएको छ ।

पहिलो उपाय – फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बन । आर्थिक अनुशासनलाई हामीले अझ कठोरतापूर्वक पालना गर्नु आवश्यक छ । त्यसैले‚ मैले भन्दै आएको छु( अहिले सबैले मुठ्ठी कस्नुपर्ने समय छ । हरेक नागरिक‚ परिवारदेखि राज्यका निकायहरूलाई खर्च सकेसम्म नियन्त्रण गर्न मेरो आग्रह छ । आर्थिक अनुशासन र मितव्ययितालाई हामीले जीवन पद्धतिका रूपमा अवलम्बन गर्नु पर्दछ ।

दोस्रो उपाय- अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्दछ । मूलभूत रूपले कृषि, वन‚ पर्यटन र जलविद्युतलाई तुलनात्मक लाभको क्षेत्र मानिएकोबारे तपाईंहरू जानकार हुनुहुन्छ ।

हाल मुलुकले आयात गरिरहेको वार्षिक करिब चार खर्ब रुपैयाँ बराबरको सामग्री कृषि र वनसँग सम्बन्धित उत्पादन रहेको तथ्याङ्कले देखाउँछन् । हामीले आफैं उत्पादन गर्न सकिने धान चामल मात्रै करिब पचास अर्ब रुपैयाँ बराबरको आयात भइरहेको छ । सागसब्जी, दाल, मसला र गेडागुडी समेत उसैगरी आयात भएको देखिन्छ ।

फर्निचर, काठ र अन्य वन पैदावारको पनि त्यही अवस्था छ । कृषि उत्पादनबाट केही महिनामा नै लाभ प्राप्त गर्न सकिने हुनाले ठोस नीति र सकारात्मक हस्तक्षेपका माध्यमबाट उत्पादन बढाई व्यापार घाटा कम गर्ने पहलको सुरुवात यहाँबाट गर्न सकिन्छ भन्ने मलाई लाग्दछ ।

अहिले हाम्रो अभियान हुनुपर्दछ , खेतबारी बाँझो नराखौं । यसनिम्ति जनता आफैं जागृत हुने अवस्था निर्माण गर्न हाम्रो प्रयत्न रहनुपर्दछ । नवनिर्वाचित स्थानीय तहहरूले यस अभियानको नेतृत्व गर्न सक्दछन् भन्ने मलाई लाग्दछ ।

कोभिड–१९ र पर्यटन

कोभिड–१९ का कारण मानिसको पर्यटन व्यवहार व्यापक रूपमा बदलिएको छ । अन्तरदेशीय यात्रामा बन्देजहरू कायम छन् । तसर्थ, महामारीको प्रत्यक्ष र ठूलो प्रभाव पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायलाई परेको छ । यसलाई कम गर्दै लैजान हामीले आन्तरिक र वैदशिक पर्यटनलाई प्रवर्द्धन गर्दै क्रमशस् उठाउनुपर्ने देखिएको छ ।

उर्जाको क्षेत्र

जलविद्युतका क्षेत्रमा हाम्रो प्राथमिकता आन्तरिक खपत वृद्धतर्फ उन्मुख हुनु पर्दछ । मुलुकले कष्टपूर्वक सञ्चित गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थको आयातमा खर्च भैरहेको छ । जलविद्युतलाई जनताको भान्सासम्म पुर्‍याएर एलपी ग्यासको आयात कम गर्दै लैजान सकिन्छ । पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्दै लैजाने नीति अवलम्बन गरी हामी अर्को सुरुवात गर्न सक्दछौं । यस सम्बन्धी विद्यमान नीतिहरूको इमान्दारीपूर्वक कार्यान्वयन गर्न सबैको सचेत प्रयास आवश्यक देखिएको छ ।

मैले अर्थतन्त्रको प्रसंगबाट विषयको सुरुवात गरेँ । स्वावलम्बी र स्वाधीन अर्थतन्त्र मुलुकको सार्वभौमिकतासँग प्रत्यक्ष रूपले जोडिएको हुन्छ । नेपालको मौलिक पहिचान‚ संस्कृति र सभ्यता हाम्रो स्वाधीनतासँग गहिरो गरी अन्तरसम्बन्धित छन् । बौद्ध एवं सनातन सभ्यताहरूको विकास भएको मानिने हाम्रो भूखण्डसँग भएका सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न सबल शिक्षा प्रणालीको आवश्यकता रहेको छ । मुलुकको सांस्कृतिक एवं सभ्यतागत पुनर्जागरणका लागि शिक्षा नै पहिलो र एक मात्र सर्त हो ।

शिक्षा क्षेत्रकाबारेमा

यसका साथै शिक्षा क्षेत्रलाई पूर्वाधारको पनि पूर्वाधार भन्ने गरिन्छ । विद्यालयदेखि विश्‍वविद्यालय तहसम्म नेपालले आफ्नो क्षमताअनुसार प्रशस्त लगानी गरेको भएतापनि त्यस अनुसारको प्रतिफल निस्कन सकिरहेको छैन । शिक्षाको सम्बन्ध रोजगारीसँग हुने भएकाले आफ्नो शिक्षित जनशक्तिलाई स्वदेशमा नै पेशा, व्यवसाय गर्ने वातावरण कति निर्माण हुन सक्यो भन्ने पक्ष एउटा छ । यससँगै अझ महत्वपूर्ण पक्षहरू हाम्रो शैक्षिक प्रणालीसँग जोडिएका छन्, जसमा पठन पाठनको नियमितता, विद्यार्थी र शिक्षक संख्याको अनुपात, पाठ्यपुस्तकको समयमै उपलब्धता जस्ता सवालहरू आउँछन् ।

विद्यालयदेखि विश्‍वविद्यालय सम्मकै शिक्षाको गुणस्तर, सामाजिक दायित्व, शिक्षण सिकाईको प्रभावकारिता, जनताको करबाट त्यहाँ भैरहेको आर्थिक लगानी जस्ता महत्वपूर्ण मुद्दामा सुधारात्मक उपायहरू पहिल्याउन यहाँहरूको कलम अझै चल्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

त्यसैगरी, कोभिड–१९ महामारीले समग्र स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्तिको माग गरेको छ । स्वास्थ्य पूर्वाधार, विशेषज्ञ स्वास्थ्यकर्मीहरूको उपलब्धता, स्वास्थ्यमा जनताको पहुँच जस्ता विषयमा हामीले निकट अतितबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने खाँचो रहेको छ ।

स्वच्छ पिउने पानी‚ सरसफाई तथा सहरदेखि गाउँसम्म फोहोरको वैज्ञानिक व्यवस्थापनले मात्र हाम्रो समाजलाई स्वस्थ‚ वस्नयोग्य‚ सुन्दर र वातावरणमैत्री बनाउन सक्दछ ।

मुलुकको अर्थिक प्रणाली‚ शिक्षा‚ स्वास्थ्य‚ विदेश नीति लगायतका आधारभूत सवालहरूमा राज्यले लिनुपर्ने दिशाका बारेमा हामीलाई हाम्रो संविधानले स्पष्ट मार्गदर्शन गरेको छ । राष्ट्रका सामु उपस्थित अहम् विषयहरूमा संविधानलाई शीरमा राखेर सबै राजनीतिक दलहरू बिच सहमति कायम हुन सक्दछ । यसका लागि आवश्यक पर्ने जनमत निर्माण गर्न राज्यको चौथो अङ्गको रूपमा सम्मान प्राप्त गरेको सञ्चार जगतले सबै पक्षलाई निरन्तर सचेत गराउने मैले अपेक्षा लिएको छु ।

जलवायूपरिवर्तनले पारेको असरका बारेमा

अन्त्यमा, हाम्रो प्राथमिकतामा अझैपनि गम्भीरतापूर्वक पर्न नसकेको, दैनन्दिनका समस्याले व्यस्त बनाउँदा यदाकदा छुट्न गएको‚ तर सबैको दृष्टि पुग्नैपर्ने जलवायु परिवर्तनको विषयतर्फ यहाँहरूको ध्यान आकर्षित गर्न चाहन्छु । पर्वतीय मुलुक भएको हुनाले नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुकको सूचीमा सबैभन्दा माथि छ । एकातिर पानीका प्राकृतिक मुहानहरू सुक्दै जान थालेका छन् भने अर्कोतिर हाम्रा हिमालमा हिउँको मात्रा घट्दै गएको प्रत्यक्ष अनुभव गर्न सकिन्छ । वर्षात्‌को प्रवृत्ति बदलिएको छ । हिमाली क्षेत्रको तापक्रम पनि निरन्तर बढिरहेको वैज्ञानिक अध्ययनहरूले निष्कर्ष निकालेका छन् ।

हामी आफैं ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र होइनौं, तर जलवायु परिवर्तनको ठूलो मार हामीमाथि परिरहेको छ । यस सन्दर्भमा‚ हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा खेल्नुपर्ने भूमिका बढिरहेको छ । सामुदायिक वन व्यवस्थापनका हाम्रा अनुभवले जलवायु अनुकूलनका मौलिक तौरतरिकाहरू विकास गर्न मद्दत गर्न सक्छन् । हाम्रा किसानहरूले आफ्नै अनुभवबाट विकास गरेका अनुकूलनका उपायहरू अन्य मुलुकका लागि पनि उपयोगी हुन सक्दछन् । यी ज्वलन्त विषयहरूमा विभिन्न पक्ष र क्षेत्रबाट देखाउनुपर्ने तदारुकताका सन्दर्भमा समेत तपाईंहरूको ध्यान अझ आकृष्ट हुने छ भन्ने भन्ने मेरो विश्वास छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न सञ्चार माध्यमका प्रकाशक/सम्पादकहरूसँग भेटघाटको अवसरमा व्यक्त गर्नुभएका विचारको सम्पादित अंश