• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ★   आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत



लन्डन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन् । ”

अध्यक्ष आचार्यले प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्नुहुने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत सङ्घका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिनुभयो ।

यसैगरी सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गर्नुभयो । “हामी गैरआवासीय नेपाली (एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौँ”, उहाँले भन्नुभयो ।

सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताउनुभयो । “यी अधिकारको परिभाषा अर्को विधयेक ९ गैरआवासीय नेपालीसम्बन्धी विधयेक०मा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

सङ्घका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गर्नुभयो । उहाँले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

सङ्घका महासचिव डा केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतिक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताउनुभयो । “सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुङ्गा सावित हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।