• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   खुट्टाले लेखेर एसइई उत्तीर्ण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने

दश वस्तुको आयातमा निरन्तर प्रतिबन्ध



काठमाडौँ  । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएकोे हो ।

यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसअघि ६०० अमेरिकी डलरभन्दा महँगा फोन आयातमा रोक लगाइएकामा त्यसलाई खुकुलो बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका फोन आयातमा रोक लगाइएको छ । यसैगरी यसअघि २५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।