• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन

किराँती समुदायले सिसेक्पा तङ्नाम मनाउँदै



फुङ्लिङ । किराँती समुदायले आज बिहानैदेखि (सिसेक्पा तङ्नाम) पर्व मनाउन थालेको छ । किराँतीहरूले साउने सङ्क्रान्तिलाई (सिसेक्पा तङ्नाम) भनेर मान्ने गर्दछ । सो समुदायमा आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत नेपालको पूर्वका जिल्लाहरूमा बसोबास गर्ने किराँतीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङनाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङहरू) सङ्कलन गरी ल्याउने गर्दछन् ।

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन् । सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् ।

थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमुली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछन् ।

भूतप्रेत वा भौतिक शत्रु चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख–पीडा’लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् ।

यसैगरी उनीहरूले गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेका हुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके । यसकारण अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किराँत धर्मका जनकारहरूको भनाइ छ ।

आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी÷जनजातिहरू पूर्वका किराँत, लिम्बू, राई तराईका थारू र पश्चिमका मगर आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङ्नामका रुपमा मनाउँदै आएको किराँत साहित्य उत्थान सङ्घका अध्यक्ष ज्ञानु फुरम्बो (चरपे)ले बताउनुभयो ।

किराँतीहरूले सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङ्क्रान्ति)लाई महान् पर्वको रूपमा मनाउने फुरुम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “सिसेक्पा तङ्नाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउने गरेको भने माघे सङ्क्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् ।” कक्पेक्वा तङ्नाम मरिन्छ कि भनेर मनाउने हो भने सिसेक्पा तङ्नाम लौ बाँचियो भनेर मनाउने गरेको उहाँले जानकारी दिनुभयो ।