• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री ★   लालुपाते सहकारी घोटला प्रकरण: बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति ★   रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह ★   विश्वकपबारे रोहित भन्छन्– ब्याटिङमा राम्रो गर्न सकेनौँ

बागलुङका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्रही मर्कामा



बलेवा । बागलुङका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामीलाई उपचार सेवा लिन समस्या भएको हो ।

हरेक पालिकामा नगर अस्पताल बनाउने सरकारी योजना छ । त्यो बाहेक तत्कालीन निर्वाचन क्षेत्रअनुसार एक निर्वाचन क्षेत्रमा एकएक वटा प्राथमिक स्वास्थ्य केन्द्र रहने व्यवस्था थियो । उक्त व्यवस्था अझै कायम छ । तर बिरामीले भने नगर अस्पतालका भवन बन्दै गरेको दृश्य र प्राथमिक स्वास्थ्य केन्द्रका भवन मात्रै भेट्ने गरेका छन् ।

एक केन्द्रमा ३ जनासम्म डाक्टर रहने र सोही अनुसारको स्वास्थ्य सेवा दिने चलन थियो । तर, बागलुङका गलकोट र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा अधिकांश समय चिकित्सक नभएको गुनासो आइरहन्छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार आजकल जानकारीबिनै चिकित्सक आउने जाने हुँदा रिर्पोटिङसमेत गलत हुन थालेको छ । सदरमुकामदेखि ५० किमी पश्चिमको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीका चिकित्सक छैनन् । तर, एकजना छात्रवृत्ति कोटाका मेडिकल अधिकृत भएकोले केही सहज थियो । ती अधिकृतले समेत बिना जानकारी जिल्ला छाडिसकेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘ओएनएम’ सर्भे नगरेकोले दरबन्दी बढाउने र सेवा सुविधा थप गर्ने काम रोकिएको बेला भएका चिकित्सकले पनि छाडेपछि नियमित उपचार सेवासहित शवपरीक्षण सेवा पनि प्रभावित भएको हो । हरिचौरस्थित केन्द्रमा पुरानै मोडल अनुसार पाउनुपर्ने तीन जना चिकित्सकमध्ये एक जना मात्रै कार्यरत हुनुहुन्थ्यो ।

कार्यरत डा सन्देश पौडेल जेठ मसान्तमा हिँडेपछि अत्यावश्यक सेवा पनि ठप्प भएको हो । “अहिले डाक्टर नभएर शव परीक्षण सेवा पनि प्रभावित भएको छ”, स्थानीय देवी थापाले भन्नुभयो, “सदरमुकाम पुगेर शव परीक्षण गर्नु पर्दा मृतकका परिवारलाई सास्ती हुन्छ ।”

डा पौडेल छात्रवृत्ति कोटामा दुई वर्षका लािग गलकोट आउनुभएको थियो । सङ्घीयतापछि विभागले सोझै पठाउने गर्दा केही थाहा हुन छाडेको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

जिल्ला छाड्दा स्वास्थ्य कार्यालयमा बोधार्थ पनि नआएको घिमिरेले बताउनुभयो । स्वास्थ्य सेवा विभागले खटाउँदा पनि कार्यालयमा जानकारी नदिएकाले दरबन्दीबारे जानकारी पाउनै छाडेको घिमिरेको अनुभव छ । केन्द्रमा दैनिक ५० देखि ६० बिरामी आउने गर्छन् ।

केन्द्रमा गलकोट नगर अस्पतालसमेत राख्ने गरी निर्णय भएको थियो । वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पवन हमालले जनशक्तीबारे खोजी गर्ने बताउनुभयो । हमाल तीन दिनअघि अस्पतालको अध्यक्ष चुनिनुभएको हो । गलकोट नगर अस्पताल बन्नका लागि १५ शय्या, एक जना मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मीको दरबन्दी चाहिने व्यवस्था छ ।

केन्द्रको भवन अझै हस्तान्तरण भएको छैन । जेनेरेटर छैन । विद्युत् आपूर्ति बन्द भएपछि सबै सेवा अवरुद्ध हुन्छ । “हामीले अस्पताल र स्वास्थ्य केन्द्र कुनैपनि सेवा पाउन सकेका छैनौँ”, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले भन्नुभयोे,“अस्पताल चलाउन पहल गरिरहेका छाँैं, मन्त्रालयलाई ओएनएम सर्भे गरिदिन आग्रह गरेका छौँ ।’

मन्त्रालयका प्राविधिक आएर संभाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ हो । गुरौले भन्नुभयो, “सर्भे नभएकोले घोषणा भएका सबै नगर अस्पताल कागजमै सीमित छन् ।” ओएनएम सर्भेको प्रतिवेदन स्वीकृत नभएसम्म दरबन्दी नपाइने गुरौले बताउनुभयो । अस्पतालको मान्यता पाएपछि मात्रै यहाँ २४ घण्टे सेवा सञ्चालन गर्न सकिन्छ । रासस