१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको बताउनु भयो । उहाँलेथप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पुरा हुने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट पार्नुभयो । मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चालु आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट जम्मा ६ लाख मेट्रिक टन मलको लागि टेण्डर आह्वान भएको छ । २०८१ जेठ २८ सम्म ३ लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा ३ लाख ६७ हजार मेट्रिक टन मल विक्रि, वितरण भएको छ । गत वर्ष समेतको गरी ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुता रहेको छ । युरियामा १७ प्रतिशत र डिएपीमा ५५ प्रतिशत र पोटासमा ४७ प्रतिशत औसत अनुदान उपलब्ध गराउँदै आएका छौँ । थप १ लाख ३१ हजार मेट्रिक टन आयात हुने क्रममा रहेको र असार मसान्तसम्ममा आयात भइसक्ने अवस्था रहेको छ ।’

‘धान रोपाईँका लागि मौज्दुतामा रहेको मल र आयात हुने मलबाट आवश्यकता पूरा हुनेछ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड विनियोजन गरिएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मुल्य क्रमश: घट्दो क्रममा रहेकोले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या हुँदैन । आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेन्डर आव्हान भइसकेको र सो मध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको हुँदा मलको अभाव नहुने गरी मन्त्रालयले कार्ययोजना बनाई काम अगाडी बढाइएको छ भन्ने कुरा म जानकारी गराउन चाहान्छु ।’

मन्त्री साहले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि समयमै प्रक्रिया आरम्भ गर्नुपर्ने बताउनु भयो ।