• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

गण्डकीमा बजेट माथिको छलफल जारी



गण्डकी । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको छ ।

बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताउनुभयो । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उहाँले बताउनुभयो । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उहाँले बताउनुभयो ।
बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । सरकारमा जवाफदेहिता नदेखिएको उहाँले बताउनुभयो ।

मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताउनुभयो । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उहाँले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गर्नुभयो ।

लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताउनुभयो । करको दायरा फराकिलो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । धनमाया पोखरेल लामाले सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताउनुभयो । योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उहाँले बताउनुभयो । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उहाँको भनाइ छ ।

भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताउनुभयो । सत्तापक्ष आफैँभित्र लुछाचँुडीमा लागेको बताउँदै उहाँले जनताका अपेक्षालाई ध्यान नदिइएको बताउनुभयो । आजको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिनुभएको थियो ।