२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरको रिसोर्ट त्रिशूली नदीको किनारमा



अ+ अ-

चितवन । व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो । 

रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुङ्गै ढुङ्गाले बनेको कलात्मक छ । पाँच बिघा जमिनमध्ये आधा भागमा रिसोर्ट छ भने बाँकीमा फार्म हाउस बनाइँदै छ । पर्यटन क्षेत्रका अनुभवी र विज्ञले नभएर हाडजोर्नी विषेशज्ञ डा प्रमोदप्रसाद लामिछानेले रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो । पाँच वर्षअघि च्यारिटी अस्पताल खोल्ने उद्देश्यले खरिद गरिएको जग्गामा अत्याधुनिक रिसोर्ट बनाइएको हो । 

भरतपुरमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका सञ्चालक लामिछाने र उहाँकी श्रीमती डा विष्णुमाया खरेल लामिछानेले रिसोर्ट निर्माण सुरु गर्नुभएको हो । डेढ वर्षअघि खरेलको क्यान्सरबाट निधन भएको छ । उहाँको जन्मदिन पारेर उहाँहरुका छोरा प्रतीकले आज रिसोर्टको उद्घाटन गर्नुभएको हो । लामिछानेको भनाइमा रिसोर्टको आम्दानीको एउटा हिस्सा स्व खरेलको नाममा अक्षयकोष बनाएर अपाङ्ग बालबालिकाको हाडजोर्नी उपचारमा खर्च गरिनेछ । दन्तरोग विशेषज्ञ रहनुभएकी स्व खरेलको परिकल्पनाको रिसोर्ट भएकाले डा लामिछाने यसको आम्दानीलाई समाज सेवामा लगाउने योजनामा हुनुहुन्छ । 

रिसोर्टमा १५ वटा भिल्ला रहेका छन् । ती भिल्लामा २२ वटा कोठा छन् । ती कोठा आगामी असोज १ गतेबाट सञ्चालनमा आउने छन् । क्रमशः कोठा थप गर्दै लगिने उहाँको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर ७५ कोठाको अनुमति लिइएको छ । एउटा छुट्टै प्रेसिडेन्सियल भिल्ला रहेको छ । सो भिल्लामा स्वीमिङ पुलसहित आवश्यक सुविधा छन् । महँगो रकम तिर्न सक्ने ग्राहकलाई लक्षित गरी यो भिल्ला बनाइएको हो । रिसोर्टभित्र तारा आकारको सानो, गीतार आकारको मझौला र कलाकौशलले भरिएको ठूलो गरी तीनवटा स्वीमिङ पुल रहेका छन् । ती स्वीमिङ पुलमा पहाडबाट झरेको प्राकृतिक पानीको प्रयोग गरिएको छ । यहाँ गर्मी मौसममा पनि शीतलता प्राप्त गर्न सकिने उहाँ बताउनुहुन्छ । एक हजार जना अट्ने ठूलो सभाहलसँगै ५० र १०० जना अट्ने सभाकक्ष रहेको लामिछानेले जानकारी दिनुभयो ।

 रिसोर्ट परिसरमा ठाउँठाउँमा काठका कलात्मक पुल बनाएर आकर्षक बनाइएको छ । रिसोर्टमा चीनबाट झिकाइएका सेरामिक धातुका सिंह, गाड, युवती, बत्ती राखेर सझाइएको छ । रेष्टुरेण्टमा कलात्मक काठभित्र झुमर बालिएको छ । रिसोर्टमै पूर्वी एशिया झल्काउने चाइना हाउस निर्माण गरिएको छ । लामिछानेले रिसोर्टमा ढुङ्गासँगै अधिकतम काठ, खडाइ, खरको प्रयोग गर्नुभएको छ । रु २० करोडभन्दा बढी लगानी भइसकेको यस रिसोर्टमा थप लगानीको तयारीमा उहाँ हुुनुहुन्छ । लामिछानेले भन्नुभयो, “यो बुटिक रिसोर्ट हो । तपार्इँ जे हेर्नुहुन्छ अनौठो र आनन्द लाग्छ ।” अध्ययन अनुसन्धान गर्नेहरुलाई शान्त वातावरणमा लामो समय बस्नका लागि रिसोर्ट उपयुक्त हुने उहाँको भनाइ छ । रिसोर्ट परिसरमा आँप, लिची, कटहर, बेल, अम्बा, अमलालगायत रुख रहेका छन् । 

रिसोर्टको आडैमा आफ्नो पुख्र्यौली घर लमजुङको राइनास क्षेत्रमा हुने पहाडी शैलीको कलात्मक घर निर्माण गरिएको छ । पछिल्ला दिनमा तस्बिर लिएर सामाजिक सञ्जालमा पोष्ट गर्नेले यो घरलाई भाइरल बनाएको जनाएका छन् । सो घर पनि पाहुना बस्न मिल्ने गरी बनाइएको छ । यो रिसोर्ट भरतपुरको रामनगरबाट दुई किलोमिटरको दूरीमा रहेको छ । रिसोर्टमा हाल ३५ जना कर्मचारी रहेका छन् । तीमध्ये १० जना चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको टाइगर टप्स होटलका कर्मचारी छन् । उनीहरु भएकैले बेलायती पर्यटकले घुम्न आउने चासो देखाएको लामिछानेको भनाइ छ । 

आन्तरिक र बाह्य पर्यटकलाई पानीमा, वनमा हुने गतिविधिका अतिरिक्त चितवन राष्ट्रिय निकुञ्ज घुमाउने गरी प्याकेज बनाउन लागिएको छ । हाल रिसोर्ट बनाइएको ठाउँमा विसं २०६५ अघि लभ्ली रिसोर्ट थियो । पानीका गतिविधिका धेरै सिनेमा यहाँ  छायाङ्कन गरिएका थिए । त्यतिबेला धेरै विदेशी पर्यटक आउने गर्दथे ।