• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा



चितवन । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।

भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।

उद्योग सङ्घ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उहाँले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विद्युत् समस्याका कारण उद्योग सङ्कटमा पुगेका छन् । उपकरण जलेर ठूलो क्षति व्यहोर्नुपरेको छ ।”

उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उहाँको भनाइ छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थसमेत नष्ट हुने गरेको उहाँले जानकारी दिनुभयो । आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंक किस्ता र ब्याज बुझाउनसमेत कठिन अवस्था आएको उहाँले बताउनुभयो ।

प्लाष्टिक उद्योग सञ्चालन गर्दै आउनुभएका पुराना व्यवसायी राजेन्द्र ओलीले लोडसेडिङको समयमा तालिकाअनुसार काम गर्न पाएको भए पनि अहिले झनै अस्तव्यस्त भएको गुनासो गर्नुभयो । प्लास्टोटेक नेपाल र आशीर्वाद पाइप उद्योगका सञ्चालक ओली कच्चा पदार्थ तातेपछि विद्युत् जाँदा कच्चा पदार्थसमेत नष्ट हुने गरेको बताउनुहुन्छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्षसमेत रहनुभएका ओलीले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गर्नुभयो । यस्तै अवस्था रहेमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहने उहाँ बताउनुहुन्छ । उद्योगका अतिरिक्त सर्वसाधारण विद्युत्का कारण हैरान भएका छन् । सानातिना व्यवसाय गर्नेहरु इन्भर्टर राख्नुपर्ने बाध्यता पुगेका छन् । तालिकामा गरिएको लोडसेडिङपछिको समयमा इन्भर्टर हटाएका भरतपुरका बासिन्दाले पुनः जडान गर्न बाध्य भएका छन् । भरतपुर–१० का देवीप्रसाद शर्माले विद्युत् प्राधिकरणका अधिकारी र इन्भर्टरलगायतका व्यवसायीको साँठगाँठका कारण विद्युत्मा समस्या सिर्जना गरिएको आरोप लगाउनुभयो ।

विद्यार्थी अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन् । चितवनजस्तो गर्मी ठाउँमा पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम भइरहेकाले समय–समयमा विद्युत् अवरोध भएको दाबी गर्नुहुन्छ । उहाँको भनाइमा धेरै ठाउँमा विद्युत्को सुधारका काम भइरहेको छ ।