२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

एउटा यस्तो पास्नी !

एउटा यस्तो पास्नी !
अ अ+ अ-

भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलो पटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि, कतिपय संस्कारहरुलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै कतै यसलाई ‘कमर्सियल’ बनाउने पनि गरिएको पाइन्छ ।

तर, आज भक्तपुरको चाँगुनारायणमा गरिएको एउटा अन्नप्राशन भने निकै भावनात्मक र नौलो प्रकारको थियो । चाँगुनारायण– ४ मा अवस्थित तुलसालय आश्रममा ६ महिनाकी स्तुतिको पास्नीमा उपस्थित सबै अतिथिहरुले उनको अवस्थाको बारेमा बताइरहँदा निकै भावुक भएका थिए । स्तुति उनकी आमाकी सातौँ छोरी हुन्, तर गत पुसमा उनलाई जन्म दिएको पाँच मिनेटमा नै आमा गौरा छत्यालको निधन भएको थियो ।

बुबा असक्त, आमाको निधन । स्तुतिका दिदीहरु सबै १३ वर्ष मुनिका । यसरी असहाय बनेकी २० दिनकी स्तुतिलाई तुलसालय हरिहर फाउन्डेसनले उद्धार गरी लालनपालन गरी आएको छ । आज तिनै स्तुतिको शुभ अन्नप्राशन नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुुशिला कार्कीको हातबाट भयो ।

स्तुतिलाई सगुन खुवाएपछि पूर्व प्रधानन्यायाधीश कार्की निकै भावुक हुनुभयो । उहाँले भन्नुभयो– मेरो सामाजिक जीवनमा म धेरै कार्यक्रममा सहभागी भएँ हुँला तर यस्तो कार्यक्रममा कहिल्यै गएको थिइन, यसरी अनाथ आश्रममा रहेकी एक छोरीको अन्न प्राशनजस्तो शुभ कार्यमा मलाई सहभागी गराउने आश्रमका सञ्चालक महान छन् ।

पूर्वप्रधानन्यायाधिस कार्कीले भन्नुभयो– “जसका आमाबुबा छैनन्, जो परिवारको हैसियतमा छैनन्, टुहुरा छन् र समाजका बेसहारा नागरिक छन् उनीहरुको अभिभावकत्व ग्रहण गर्दै बच्चालाई बढाई, पढाई उनीहरुको भविष्य बनाउने महान कार्यलाई कसैले बिर्सनु हुदैन । त्यस्तै समाजमा जो बेसहारा छन् तिनको सहारा सरकार हो भन्ने दायित्व सरकारले बुझ्नुपर्छ । अनाथ आश्रमबाट धेरै बच्चाहरुले सहारा पाएकाले यस्ता आश्रमलाई राज्यले सहयोग गर्नुपर्छ ।” कार्कीले तुलसालय आश्रमले प्रदर्शन गरेको मानवीय सेवाभावको प्रशंसा गर्नुभयो ।

स्तुतिलाई सगुन खुवाउन पुग्नुभएकी पूर्व प्रदेश प्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बेसहारा बालबालिका र आम नागरिकलाई सहयोग पुर्याउनु नागरिकको कर्तव्य हो भन्दै समाजमा सकारात्मक सन्देश दिन र मानवीय सेवाको भावना जागृत गराउन यस्ता कार्यक्रमहरु महत्वपूर्ण रहने बताउनभुयो ।

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले बच्चा ल्याएरु पढाएर, बढाएर पछि देशका लागि लायक नागरिक बनाउनु ठूलो परोपकारी कार्य हो भन्दै यसलाई निरन्तरता दिन समाज र राज्यको उपस्थिति आवश्यक रहने बताउनु भयो । समाजसेवाको कुनै दायरा हुदैन भन्दै उहाँले सकेको आफूले पनि केही गर्नुपर्छ र म गर्छु भन्ने भन्ने भावना जगाउन यस्ता संस्थाले प्रेरणा दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, “कस्तो अबस्थामा ल्याएका बच्चालाई यो अवस्थामा पुर्याएर उनीहरुको जीवन बनाउने काम सहज छैन, भाग्यमानीले मात्रै यस्ता आमा भेट्छन्, समाजका लागि केही गर्ने मान्छेहरु पनि छन् है भन्ने यो एउटा उदाहरण पनि हो, यस्ता संस्थाका लागि सरकारले पनि केही सोच्नुपर्छ ।”

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले छोराको चाहनाले छोरी जन्माइरहने नेपाली समाजले स्तुतिजस्ता छोरीलाई बेसहारा बनाउने धारणा राख्नुभयो । उहाँले छोरा र छोरी दुवै सन्तान हुन् भावना अझै पनि देशका कुनाकाप्चासम्म पुग्न नसकेकाले त्यो चतना जागृत गराउन जरुरी रहेको बताउनुभयो । अनाथ आश्रममा गरिएका यस्ता कार्यक्रमहरुले समाजमा असहायहरुका पनि सहारा छन् भन्ने राम्रो सन्देश दिने धारणा राख्नुभयो ।

तुलसालय हरिहर फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीले यस्ता कार्यक्रमहरुले अनाथ तथा बेसहारा बालबालिका तथा असहाय नागरिकका पनि समाजमा कोही छन् भन्ने सकारात्मक सन्देश दिन सकियोस् र यी बालबालिका पनि आफ्नो सांस्कृतिक अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्तुतिको अन्नप्राशन गरिएको बताउनुभयो ।

हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले गतपुस २९ गते सातौँ सन्तानका रुपमा स्तुति जन्मिइन् । आफ्नो सातौँ सन्तान पनि छोरी नै जन्माएपछि छोरीको मुख पनि नहेरी प्रशव पीडामै आमाको निधन भएको थियो । स्तुतिकोे बिचल्ली भएको खबर पाएपछि फाउण्डेसनकी अध्यक्ष सुवेदीले ती शिशुसहित उनका दूई दिदीको उद्धार गरेर ल्याउनुभएको थियो ।

गरिब परिवारका बाबु गोरख छत्याल अशक्त र बिरामी । उहाँको आर्थिक अबस्था निकै कमजोर भएपछि नवजात शिशुसहित ६ छोरी पाल्न उहाँलाई कठिनाई भयो । त्यसपछि दाजुभाई र आफन्तले सुवेदीलाई खबर गरी उनको उद्धार भएको हो । जन्मेको २० औँ दिनमा उद्धार गरिएको शिशुको एक महिनामा आश्रममै न्वारन गरिएको थियो ।

अध्यक्ष सुवेदी भन्नुहुन्छ, “मेरो आमा पनि म १५ वर्ष हुदा बित्नु भएको हो, टुहुरो जीवन कस्तो हुन्छ, मलाई राम्ररी थाहा छ, त्यसैले यस आश्रममा रहेका यी छोराछोरीलाई उनीहरुले पाउनुपर्ने माया र अिधकार दिलाउन लागि परेकी छु । आज प्रर्वप्रधानन्यायाधीशबाट अन्नप्राशन भएको छ, भोली त्यही ठाउँमा स्तुति र यी छोरीहरु पुगुन् भन्ने मेरो प्रार्थना छ ।”

अहिले आश्रममा ६ महिनाकी स्तुतिसहित २६ जना बालबालिका छन् । थप केही बालबालिका केही दिनमा आश्रमसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो । यहाँ ७२ वर्ष उमेरसम्मका गरी १७ जना ज्येष्ठ नागरिक हुनुहुन्छ । ललितपुरको भंैसीपाटीमा स्थापित यो प्रतिष्ठानले गएको पुस महिनादेखि भक्तपुरको चाँगुनारायण–४ मा शाखा स्थापना गरी बेसहारा नागरिक तथा बालबालिकालाई सहारा प्रदान गरी लालनपालन गर्दै आएको छ । -रमेश गिरी (रासस)