• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   पत्रकार महासंघको चुनाव अनिश्चितकालसम्मका लागि स्थगित ★   विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली ★   भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त ★   ‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण ★   भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु ★   हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो ★   पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस ★   सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस– ब्रेन ट्युमर: अवस्था र भावी योजना ★   राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन क्यानलाई राखेपको ध्यानाकर्षण ★   एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै



फाईल फोटो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैंकक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।

थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।

श्रीलङ्कन एयरलाइन्सले उडान थप्यो

श्रीलङ्कन एयरलाइन्सले सातामा सातवटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जिएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतबार, सोमबार, मङ्गलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो ।

कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ । प्राधिकरणका अनुसार हाल टिआइए भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यिमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् । टिआइएमा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।