• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

हज समितिले शुल्क लियो सुविधा दिएन हाजीहरुलाई थर्काउने गरेको पूर्व सांसदको गुनासो



काठमाडौं । साउदी अरबको मक्कामा हज गर्न गएका नेपाली मुस्लिम हजयात्रीहरुलाई हज समितिले असहयोग गरेको भन्दै असन्तुष्टि चुलिएको छ ।

गत जेष्ठ २ गते साउदी पुगेका नेपाली हजयात्रीलाई संम्झौता अनुसार तोकिएको सेवासुविधा समेत नदिइएको र गुनासो सुन्ने तथा समस्या समाधान गर्न कुनै जिम्मेवार व्यक्ति उपस्थित नभएको गुनासो हजयात्रीहरुले गरेका छन् ।

हजका लागि नेपालबाट ७५४ जना साउदी अरब गएका छन् । साउदी रहेका एक हजयात्रीले न्युजपोलारसँग भन्नुभयो, यहाँको अवस्था बिजोग छ, हज कमिटीका कोही व्यक्तिहरु पनि देखिँदैनन् केही गुनासो गरे बंगाली र बर्मेली दलालहरु प्रयोग गरी थर्काउने काम भै रहेको छ । त्यसैले जेष्ठ नागरिक, महिला तथा अन्य व्यक्तिहरु निरीह भएर बस्नु परेको छ ।

उनका अनुसार, नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हजयात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, गुणस्तरहीन, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको अबस्था छ ।

यो पनि पढ्नुहोस- हज समितिमा अनियमितता: सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद

पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन । गाडीको सुविधा पनि दिएन, उहाँले भन्नुभयो ।

उहाँका अनुसार हरम (काबा) भन्दा ६ किलोमिटर टाढा रहेको डाँडामा लगेर हज यात्रुलाई राखिएको छ तर सवारीसाधनको सुविधा दिइएको छैन । जसका कारण साउदीको उखरमाउलो गर्मीमा पैदल हिँडेर जानुपर्ने अवस्था छ । तर हजयात्रीले सवारी साधनलाई समेत रकम बुझाएका थिए । हज गर्न गएकाहरुले चर्को बिरोध जनाएपछि आजदेखि भने बल्ल एउटा बस सेवा सुरु भएको छ ।

७५४ यात्रुका लागि जम्मा एउटा बस सुरु भएको छ । एक हजयात्रीले भन्नुभयो, सवारी साधनका लागि भनेर बुझाइएको रकम दुरुपयोग गर्न यो हदसम्मको काम भयो । या त रकम लिनु हुँदैन थियो या रकम लिएपछि सेवासुविधा दिनुपर्ने थियो त्यो भएन । धर्ममा पनि अपराध भयो ।

हजयात्रीलाई सहयोग गर्न भन्दै १२ जना हज समितिका पदाधिकारीहरु साउदी पुगेका छन् तर उनीहरु हजयात्रीको सम्पर्कमा नपुगेको स्रोतले बताएको छ । हज समितिका पदाधिकारीहरु भने मिसफला रोडमा रहेकोे तारे होटल मिलेनियम कोठा नं ११०८ सहित अन्य कोठाहरु लिएर बसेका छन् । हजयात्रीहरुका लागि भनेर व्यवस्था गरेका चिकित्सक साउदीमै भएपनि औषधी तथा आवश्यक अन्य सामग्री गुणस्तरहीन भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

हजयात्रीले आफूहरुले पाएको दु:खका बारेमा हज समितिले वास्ता नगरे पनि गृह मन्त्रालयमा गुनासो गर्दा पनि सुनुवाई नगरेको आरोप लगाए । उनीहरुले भने गृह मन्त्रालयले हजका बारेमा संयोजन गर्न अनौपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम साहलाई जिम्मा दिएको छ ।

पूर्व सांसद तथा नेकपा एसका केन्द्रीय सदस्य समेत रहनु भएका र हाल साउदीमा हज कार्यमा रहनु भएकी कलिला खातुनले पनि सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ, हज गर्न जाँदा दु:ख गर्नुपर्छ र दु:ख हुन्छ तर सहज होस् भनेर दुई गुणा पैसा तिरेका छन् । त्यो हज कमिटीका नेतृत्वलाई खानको लागि दिएको त हैन नि। निकै दु:ख लाग्यो हाजीहरुको स्थिति सुन्दा । न त गतिलो खाना न सहज बसाई। दिएको यात्राको लागि गाडी पनि बन्द गरिएछ रे । भनेपछि त्यो देखावटी नै त होला । यसको जवाफदेही हज कमिटी हुनुपर्छ। पहिलेको समितिले गरेको भनेर अहिलेको समिति उम्किन मिल्दैन र चुप लागेर बस्नु भनेको सबै मिलेमतो जस्तो देखेको हुनाले छिटोभन्दा छिटो यस्ता समस्याहरुको समाधान होस् र हाजीहरुले राहत पाउन् । कमिटीकै लापर्वाहीले कसैको ज्यान नजाओस्। यस्तो खराब व्यवस्थापन तत्काल सुधारिनु पर्दछ ।

उहाँले लेख्नुभएको छ, साउदी सरकारद्वारा बिना शुल्क दैनिक वितरण गर्ने जमजम पानीको लागि हाजीहरुलाई यसरी थर्काइँदैछ हज समितिका बर्मेली र बंगाली गुण्डाहरुबाट ।

केही दिन अघि संसदको महिला तथा सामाजिक मामिला समितिमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले तीन लाखमा नै हज यात्रा गराउन सकिने जानकारी गराउनु भएको थियो ।

समितिको बैठकमा उहाँले भन्नुभयो ‘अहिले चार लाख १५ हजार प्रतिब्यक्ति लिईएको छ । मलाई जिम्मा दिने हो भने ३ लाखमा नै पठाउन सकिन्छ । ‘

उहाँले हजमा आर्थिक अनियमिताको कुरा हुने गरेको र नियुक्तिका लागि तछाड मछाड हुने गरेको भन्दै कम दरमा हज यात्रा गराउने लाई समितिको जिम्मा दिनु पर्ने र हज समिति लाई पनि आयोगको मातहत राख्नु पर्ने बताउनु भयो ।

हज समितिका एक सदस्यका अनुसार साउदीमा १ हजार रियाल भन्दा कममा घर पाइने भएपनि हज समितिमा भने दुई हजार रियालको सम्झौता गरिएको छ । सोही संम्झौतालाई अहिलेको समितिले अनुमोदन गरेको छ ।

विभिन्न विकल्प समेत रहेको अवस्थामा पुरानो सम्झौता कार्यान्वयन गर्नु आर्थिक अपचलनका लागि नै भएको ती सदस्यले भने । उनका अनुसार, घरभाडा बापतको रकम मात्रै कम्तीमा ७ लाख साउदी रियाल चलखेल भएको छ । त्यो रकम नेपालमा पूर्वअध्यक्ष शमशेर मियाँ मार्फत सांसद साहसम्म पुगेको ती सदस्यले आशंका गरे । उनले भने, यो त घरभाडा बापतको मात्र हो, खाना र यातायातको पनि थप हुने, मदिनाको अलग हिसाब हुने हुँदा कति रकम गोलमाल भयो भन्ने बारेमा गम्भीर छानबिन हुनु पर्छ ।

ती सदस्यका अनुसार मक्कामा भन्दा मदिनामा बस्ने स्थान झनै टाडा रहेको छ । त्यहाँबाट प्रत्येक दिन दैनिक पाँच पटक नमाज पढ्नका लागि मस्जिदे नबयु (हरम) सम्म पुग्नु पर्ने हुन्छ जुन निकै कठिन छ । बस्नका लागि तय गरेको स्थान र नमाज पढ्ने स्थानको दुरी झण्डै ५ किलोमिटर टाडा रहेको छ ।

ती सदस्यका अनुसार हाजीसँग लिइएको शुल्कले नमाज पढ्ने स्थान वरपर नै आवास सुविधा उपलब्ध हुन सक्ने अवस्था थियो तर कमिसनका कारण त्यो काम गरिएन ।

एक सदस्यले भने हज भित्रको कुरा बाहिर लगेको भन्दै समितिका सदस्यहरुलाई समेत निगरानी गर्ने गरेको छ ।

भुटानी शरणार्थी प्रकरणका कारण साउदी जान नपाएका पूर्व अध्यक्ष शमशेर मियाँले आफ्ना नातेदार समेत रहेका हज कमिटीका सदस्य समेत रहेका जबुल मियाँलाई आफ्नो प्रतिनिधिका रुपमा साउदी पठाएका छन् ।

समितिका एक सदस्यका अनुसार हज समितिका सदस्य रसिद मिर्जाले हजयात्री सहजीकरण गर्ने भन्दा पनि अपशब्द प्रयोग गर्ने, थर्काउने गरेका छन् । मिर्जा रास्वपा प्रवेश गर्ने सर्तमा हज समितिको सदस्यमा मनोनयन भएको ती सदस्यले दाबी गरे ।

यी सबै प्रकरणमा पूर्व अध्यक्ष शमशेर मियाँ, तत्कालीन कार्यबाहक अध्यक्ष मकबुल मियाँ र सांसद साहको संग्लनता रहेको ती सदस्यले दाबी गरे ।

यो पनि पढ्नुहोस- केन्द्रीय हज समितिमा अनियमितताको चाङ, पटक पटक अतिरिक्त शुल्कले हाजीहरु हैरान