• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी



फाईल फोटो

चितवन । उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो ।

समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो । हाल निकुञ्जमा तीन वटा बाघ खोरमा रहेका छन् । सङ्ख्या थपिँदै जाँदा हुर्किएका बच्चाले ठाउँ पाउँन नसक्दा बस्ती पस्ने, बुढो भएर आहाराको खोजीमा बाहिर निस्कने र मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिनुपर्ने हुन्छ । ती बाघ राख्न व्यवस्थित ठाउँ आवश्यक पर्दछ ।

बाघको बच्चा दुई वर्ष ६ महिना कटेपछि माउ छाडेर नयाँ ठाउँको खोजीमा हुन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले देवनगरको बरण्डाभार वन क्षेत्रमा निर्माणाधीन उद्धार केन्द्रमा बाघ राख्ने गरी काम अघि बढाइएको बताउनुभयो । समस्यामा परेका बाघलाई देशभित्र र बाहिर रहेका चिडियाखाना वा खोरमा राख्नुको विकल्प छैन । सो वन क्षेत्रमा पक्की पर्खाल लगाइसकिएको छ । हाल त्यहाँ चिकित्सकसहित बस्नका लागि घर र पोष्ट निर्माणाधीन रहेको छ ।

बाघ, गैँडा, चितुवा जस्ता जनावर राख्न पर्खाल लगाइएको वन क्षेत्रमा ठूला खोर बनाउने तयारी गरिएको हो । सो क्षेत्रमा दश वटासम्म बाघ राख्न सकिने उहाँ बताउनुहुन्छ । दीर्घकालीन समाधान हुने गरी काम अघि बढाउन लागिएको हो । समस्यामा परेका वन्यजन्तु राख्न यस अघिनै सो ठाउँमा काम भइरहेको छ ।

आचार्यले भन्नुभयो, “व्यवस्थित गर्दै जाँदा दस्तुर लिएर सर्वसाधारणलाई प्रवेश दिन सकिन्छ ।” जसको आम्दानीले केन्द्र सञ्चालन गर्न सकिने उहाँको तर्क छ । हाल कसरामा दुईवटा र सौराहामा एउटा खोरमा बाघ रहेका छन् ।

निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर बेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेकोमा त्यसलाई केही दिन अघि निकुञ्जको भित्री भागमा लगेर छाडिएको छ ।

भरतपुरको राधाकृष्ण सामुदायिक वनमा नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । यो बाघले १० दिनमा दुई जना मानिसलाई आक्रमण गरेको थियो । चालु आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो ।

दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । साउनयता चार बाघ नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटा छोडेर अनुगमन गरिँदै आएको छ ।

बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हाल सम्मको उच्च दर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ थियो । यसवर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।

बाघको सङ्ख्या बढेको अनुमानसँगै निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउन प्रस्ताव गरिएको छ । बाघ र तीनका आहारा प्रजातिलाई बासस्थानको व्यवस्था गर्न निकुञ्ज जुटेको छ । ठाउँ विस्तार गर्न नसकिने भएकाले भएको क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको तिवारी बताउनुहुन्छ ।रासस