१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरस्कारको रकम अनाथ आश्रमलाई



अ+ अ-

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज, नेपालद्वारा नेपालको पत्रकारिताका क्षेत्रमा पु¥याएको योगदानस्वरुप राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकलाई प्रदान गरिएको पुरस्कारको रकम उहाँले अनाथ आश्रमलाई प्रदान गर्नुभएको छ । सो समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा पाठकलाई ‘शेरबहादुर कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान’ र नगद पुरस्कार रु १५ हजार प्रदान गरिएकामा सोही कार्यक्रममा उहाँले उक्त पुरस्कारको रकम अनाथ आश्रमलाई हस्तान्तरण गर्नुभयो । 

हालैमात्र हुम्लामा सातौँ छोरीलाई जन्म दिएको पाँच घण्टामा आमाको निधन भएपछि अनाथ बनेकी २१ दिनकी स्तुती र उहाँका पाँच र सात वर्षका दुई दिदीसहित तीन जनाको उद्धार गरी भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेशनले लालनपालन गर्दै आएको छ । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सुरु सुवेदीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । स्तुती र उहाँका दुई दिदीलाई हुम्लाबाट उद्धार गरी उक्त फाउण्डेशनमा ल्याएको समाचार केही समयअघि राससले सम्पे्रषण गरेपछि उहाँहरूलाई विभिन्न दाताहरूले सहयोग उपलब्ध गराउँदै आएका छन् । हाल सो फाउण्डेसनमा आश्रय लिइरहेकाहरुमा १८ बालबालिकासहित ३० जना  रहेका छन् । 

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनाली, प्राध्यापकद्वय कुमार कोइराला र ऋषिराज पोखरेलले संयुक्तरूपमा सो पुरस्कार प्रदान गर्नुभएको थियो । समाजद्वारा नेपाली भाषा र साहित्यका क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुका साथै अध्यक्ष हरिभक्त सिग्देल, प्रा डा आनन्ददेव भट्टलगायत सात स्रष्टाका साहित्यिक पुस्तकहरू विमोचन गरिएको थियो । रासस