ओखलढुङ्गा । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ६ हिलेपानीमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी बाराका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै निधन भएको हो । जीपमा चालकसहित १० जना रहेकोमा एक जनाको ज्यान गएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सिद्धिचरण नगरपालिका २ ठूलाछापको निशंखेबाट काठमाडौं जाँदै गरेको बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटर तल खसेको थियो ।
घाइतेमध्ये एक शिशुसहित चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
गम्भीर घाइतेको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।