• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौं–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न ★   आफूखुसी औषधि सेवन घातक ★   १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह ★   पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित ★   दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ★   संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे ★   जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन ★   चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक ★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती ★   वर्षाले डढेलो निभाउने आशा

चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी



फाईल फोटो

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ । मञ्चमाया सारुले भन्नुभयो, “सहर बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ, तर गाउँघरतिर प्रायः शौचालय बाहिर नै बनाइन्छ”, उहाँले भन्नुभयो, “बाँच्नु त प¥यो नि बाहिर निस्कन डर लाग्छ ।”

चितुवाले आफ्नो करिब रु ३० हजार मूल्य बराबरको खसी खाइदिएर क्षति बनाएको उहाँले दुखेसो पोख्नुभयो । एक सातामा उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान जानुका साथै एक बालिकासहित तीन मानिस घाइते भएका छन् । चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम बगाले बगरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिला घाइते भएका छन् ।

चितुवाका आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय छपेली सामुदायिक वनमा तीन वटा खोर राखेर पासो थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित भएर बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितुवाका लागि खोर राखिए पनि हालसम्म चितुवा पासोमा पर्न सकेको छैन । जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट बाह्र जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

चितुवा देखिएमा तत्काल खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । साँझ र बिहानको समयमा सुरक्षित भएर हिँड्डुल गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।