२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आफूखुसी औषधि सेवन घातक

आफूखुसी औषधि सेवन घातक
अ अ+ अ-
काठमाडौँ । काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन । जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उहाँले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गर्नुभयो ।
जडीबुटी सेवनपछि उहाँको दुखाइ अझ बढ्यो । जडीबुटी सेवन गरेको छ महिनापछि जीउ सुन्निने, पेट दुख्ने, दिसामा कालो देखिने समस्या थपियो । अस्पतालमा चेकजाँच गराउँदा आन्द्रामा घाउ भएर अल्सर भइसकेको पत्ता लाग्यो । चिकित्सकले उहाँलाई जथाभावी औषधिको प्रयोगले शरीरको हार्मोन असन्तुलन बनाउँदा उक्त समस्या देखिएको बताएका थिए । औषधिको असन्तुलित सेवनले सुगर र प्रेसरसमेत बढेको पाइएको थियो ।
जथाभावी औषधि सेवनबाट पीडित हुनेमा शिक्षण पेसामा आबद्ध ५० वर्षीय पुरुष पनि हुनुहुन्छ । पेट दुख्ने बित्तिकै दुखाइ कम गर्ने औषधि सेवन गर्ने बानीले उहाँलाई कालान्तरमा ठूलो समस्या थपिदियो । उहाँ पेट दुख्दा कारण पत्ता लगाउनुको साटो मनलाग्दी औषधि सेवन गर्नुहुन्थ्यो । कालान्तरमा शरीरमा थकाइ लाग्ने, छाला चिलाउने, कमजोरी महसुसजस्ता लक्षण देखिन थाल्यो । जाँच गर्दा मिर्गौलाको समस्या देखियो । अवस्था कतिसम्म पुग्यो भने मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आइलाग्यो ।
उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँ जस्ता कैयन बिरामी आफूखुसी वा गैरचिकित्सकको सल्लाहबिना औषधि सेवन गर्दा पछुताउने धेरै हुनुहुन्छ । सही ढङ्गले औषधि सेवन गर्न नजान्दा बिरामीले थप पीडा भोग्नु परेका कैयन उदाहरण भएको चिकित्सकहरुको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ)अनुसार औषधिको गलत भण्डारण, वितरण र सिफारिसले गम्भीर हानि निम्त्याउने गरेको छ । साथै औषधिको अपर्याप्त अनुगमन नगरिएको खण्डमा पनि समस्या बढाउने गरेको छ ।
कसैले भनेकै भरमा आफूखुसी औषधि सेवनले कालान्तरमा गम्भीर स्वास्थ्य अवस्थामा ल्याउन सक्ने विज्ञहरुको भनाइ छ । यसप्रकारको हेलचेक्र्याइँले थप समस्या निम्त्याउनाका साथै बिरामी अपाङ्ग हुने तथा मृत्युसम्म हुने गरेको देखिन्छ ।
फिजिसियन डा पुष्पमणि खरालले उच्च रक्तचाप, सुगर, मानसिक रोग, कोलेस्ट्रोललगायत समस्या समाधानका लागि सेवन गरिने औषधि चिकित्सकले जाँचपड्ताल गरेपछि मात्र खानुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्यारासिटामोल, झाडापखालाका औषधिहरु विश्वव्यापी रुपमा नै औषधि पसलमा गएर सिधै नै किन्न सकिन्छ । त्यो ठूलो कुरा भएन तर त्यसबाहेकका औषधिहरु चिकित्सकको सिफारिसबिना सेवन गर्नु हुँदैन । कतिपय अवस्थामा मात्रा मिल्दैन भने कतिपय अवस्थामा गलत औषधि पनि सेवन हुनसक्छ ।”
उहाँ बिरामीले सेवन गर्ने औषधिको मात्रा नमिल्दा मात्रै पनि धेरै समस्या निम्तन सक्ने बताउनुहुन्छ । “कुनै औषधि हामीले आठ घण्टाको अन्तरमा सेवन गर्न दिनुको अर्थ त्यो औषधिले त्यति समय मात्र काम गर्छ भन्नु हो”, उहाँले भन्नुभयो, “यो हचुवाका भरमा दिइएको हुँदैन यसका लागि लामो अध्ययन र अनुसन्धान भएको हुन्छ र सोहीअनुसार औषधि उत्पादन गरिएको हुन्छ ।” औषधिको गलत प्रयोगले शरीरका अङ्गहरुमा दीर्घकालीन असर पनि पर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।
औषधिविज्ञ डा राजकुमार थापा औषधि खान जाने अमृत नभए विष समान हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “औषधि होसियारीपूर्वक सेवन गर्नुपर्छ । आफूखुसी औषधि सेवनले शरीरमा विभिन्न प्रकारका जटिलता निम्त्याउन सक्छ । जटिल प्रकारका लक्षण देखिँदा चिकित्सकको परामर्श, निगरानी र सिफारिसमा मात्रै सेवन गर्नुपर्छ ।” औषधिको उपयोग राम्रो नभए शरीरमा ‘एन्टिबायोटिक रेसिसटेन्स’ निम्त्याउने भएकाले साधारण दुखाइमा पनि ‘पेन किलर’ खाने बानी लाग्न सक्ने उहाँको भनाइ छ ।
चिकित्सकका अनुसार औषधिको मात्रा नमिलाएर खाँदा प्रभावकारी हुँदैन र कीटाणुको सङ्ख्या वृद्धि भई रोगलाई थप जटिल बनाउँछ । ती कीटाणुले एन्टिबायोटिकलाई जित्न सक्छ र पछि सोही परिणाममा सेवन गर्दा काम नगर्ने अवस्था आउँछ ।
डा खराल भन्नुहुन्छ, “एन्टिबायोटिक बढी मात्रामा सेवन गरियो भने यसले नकारात्मक असर पार्न सक्छ । तोकिएभन्दा बढी मात्रामा खाँदा कतिपय औषधिले सामान्यता ग्यास्ट्रिक बढाउनेदेखि कलेजो र मिर्गौलामा असर गर्छन् ।” उहाँले एक–दुईपटक औषधिको मात्रा बिर्सने बानीले पनि समस्या निम्तने भएकाले चिकित्सकको सिफारिसअनुसार नै नियमित औषधि सेवन गर्नु आवश्यक रहेको बताउनुहुन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशतले आफूखुसी औषधि खरिद गर्ने पाइएको थियो । त्यसैगरी, २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बीचमै छाड्ने गरेको पनि भेटिएको थियो ।
औषधिको राम्ररी सेवन नगर्दा पूरा रुपमा रोग निको नहुने र तोकिएको मात्रा सेवन नगर्दा जीवाणुले एएमआर (एन्टिबायोटिकविरुद्ध लड्ने क्षमता÷प्रतिरोध) को विकास गर्ने अवस्था आउँछ  । जसकारण अर्को पटक सोही औषधि सोही परिणाममा सेवन गर्दा रोग निको नहुने विज्ञको भनाइ छ । सन् २०५० सम्म डब्लुएचओले वार्षिक एक करोड मानिस एएमआरको सिकार हुने अनुमान गरेको छ ।
डा खराल भन्नुहुन्छ, “दीर्घकालीन रोगको औषधि दीर्घकालीन रुपमा नै खानुपर्ने हुन्छ । कहिलेकाहीँ एक वा दुईवटा डोज बिर्सिंदैमा कुनै आपत्कालीन अवस्था आउँदैन तर सम्झने बित्तिकै खाने र सकेसम्म नियमित रुपमा खानुपर्ने हुन्छ । जस्तै नियमित खान भनिएको प्रेसरको औषधि खान बिर्सिंदा प्रेसर बढिराख्न सम्भावना हुन्छ ।”
उहाँले नियमित खान भनिएका प्रेसर र सुगरको औषधिलाई तोकिएअनुसार नखाँदा कालान्तरमा पक्षघात, हृदयाघात हुने सम्भावना बढ्छ भने मिर्गौलाले काम नगर्ने तथा आँखामा असर हुनसक्छ । सुगर बढेको अवस्थामा मान्छे बेहोस नै हुने, आइसियुमा नै भर्ना गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।
धेरैले सुगर र प्रेसरको औषधिहरु आफैँ खान छोड्दिने प्रवृत्ति रहेकाले चिकित्सकले खानुपर्छ भनेका औषधिहरु आफूखुसी छोड्नु नहुने चिकित्सकको भनाइ छ । जनरल फिजिसियन डा सुमना बज्राचार्य भन्नुहुन्छ, “कडा खालका दुखाइ कम गर्ने औषधि चिकित्सकको निगरानीमा मात्र खानुपर्छ । आफूखुसी खाँदा ती औषधिहरुले ग्यास्ट्रिक बढाउने हुन्छन् जसले पछि गएर मिर्गौला समेतलाई असर पु¥याउन सक्दछ ।”
औषधि खानैपर्ने अवस्था छैन भने पनि मान्छेले किनेर खाइरहेको पाइएको डा बज्राचार्यको अनुभव छ  । उहाँ भन्नुहुन्छ, “दुई/तीन दिन ज्वरो आएको छभने त्यो भाइरल ज्वरो हुनसक्छ जसमा एन्टिबायोटिक जरुरी पनि हुँदैन । हप्ता दिनमा निको भएर जान्छ । डरलाग्दो लक्षण देखिएमा जँचाउनुपर्छ । चिकित्सकले जरुरी भएको खण्डमा सङ्क्रमणअनुसार एन्टिबायोटिक दिन सक्छन् । पखाला लाग्ने बित्तिकै मेट्रोनिडाजोल खाइहाल्ने र घाँटी दुखेमा एजिथ्रोमाइसिन धेरैले खाने गरेको पाइन्छ । त्यस्तो गर्नु हुँदैन ।”
बिरामीले औषधि लिनुअघि औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिका जस्ता कुरा राम्रोसँग बुझ्नुपर्छ । केही कुरामा द्विविधा भए तत्काल सोध्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ । चिकित्सकले पनि बिरामीलाई औषधिको ‘साइड इफेक्ट’बारे जानकारी दिनुपर्छ ।
औषधिविज्ञ प्रदीप लम्सालले जनमानसमा स्वास्थ्य साक्षरता तुलनात्मकरुपमा बढेको भए पनि  पर्याप्त नभएको बताउनुहुन्छ  “चिकित्सकको सिफारिसबिना औषधि सेवन गर्दा भविष्यमा असर गर्न सक्छ । यसबारे सचेतना र औषधिको गुणस्तरबारेमा पनि अनुगमन हुन जरुरी छ ।”