काठमाडौँ । काठमाडौंको खुलामञ्चमा मगर समुदायले आज पनि विभिन्न कार्यक्रम गरि भूम्या पर्व मनाएको छ । खुलामञ्चमा हिजोबाट(असार १) सुरु भएको यो पर्वमा मगर युवायुवतीसहित सबै उमेर समूहका व्यक्तिहरु सांस्कृतिक झाँकी र मौलिक भेषभुषामा सजिएर रमेका थिए ।प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।
नेपाल मगर संघको केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए । यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास रहेको छ । आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरिन्छ । विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् ।
मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ । उपत्यकासहित विभिन्न जिल्ला र विदेशमा समेत मगरहरुले भूम्या पर्व मनाएका छन् ।