१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदभित्रै मन्त्रीहरुको भण्डाफोर गर्ने सांसद रावलको चेतावनी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले संसद भित्रै सरकारका मन्त्रीहरुको भण्डाफोर गर्ने चेतावनी दिनु भएको छ ।

प्रतिपक्षका सांसदहरुले आफ्नो लेटरप्याडमा लिएर गएको माग पत्र केही मन्त्रीहरुले विपक्षको हो भनेर च्यातेको खवर आफूले पाएको उल्लेख गर्दै सांसद रावलले त्यस्ता मन्त्रीहरुको आफूले संसदमै भण्डाफोर गर्ने बताउनु भएको हो । उहाँले प्रतिपक्ष दलका सांसदको लेटरप्याडनै च्यात्ने त्यस्ता मन्त्रीहरुको हात–मुख च्यात्न नपरोस भनि सचेत समेत गराउनु भयो । सोमबार प्रतिनिधिसभा बैठकमा किसानलाई रासायनिक मल र त्यसको भण्डारणको व्यवस्था गर्न पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै सांसद रावलले किसान मलको अभावमा छटपटाईरहेका बेला विदेश भ्रमणमा भएको भन्दै कृषिमन्त्री महिन्द्रराय यादवप्रति खेद समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला जनता सरकार खोजिरहेका छन । यो सरकार बनेको करिव एक वर्षभन्दा बढि हुन लागिसक्यो । सरकार कुम्भकर्णको निन्द्रामा छ । हामीले यही संसद भित्र पनि सम्बन्धित विभागीय मन्त्री धेरै दिन खोज्यौं । मन्त्रालयमा पनि गईयो । मन्त्रीजी किसानहरुको जल्दोबल्दो समस्यामा बेखवर हुनुहुन्छ । उहाँ विदेश सयरमा हुनुहुन्छ भन्ने कुरा मन्त्रालयबाटै सुन्यौं । किसान मल नपाएर छटपटिरहेका बेला, किसानहरु सिंहदरवारको मुख ताकेर बसी रहेका बेला सम्बन्धित विभागीय मन्त्री कानमा तेल हालेर, किसानको समस्याप्रति बेखवर भएर विदेश सयर गर्ने कृषिमन्त्रीप्रति खेद व्यक्त गर्न चाहन्छु । मुलुक कृषि प्रदान देश हो । ६० प्रतिशत हामी कृषिमा आधारित छौं । सरकारले जनताको पक्षमा, किसानको पक्षमा कुनै पनि काम गर्न सक्दैन ।

जनतालाई ठग्ने बाहेक अरु कुनै काम गर्न सक्दैन । मैले भर्खर मात्रै सुने–यो गठबन्धनका केहीकेही माननीय मन्त्री यस्ता छन, जो प्रतिपक्षका सांसदहरुले जनताको माग लिएर आफ्नो लेटरप्याडमा मन्त्रालयका पेश गरेका मागहरु यो प्रतिपक्षको हो भनेर, गैर जिम्मेवार भएर च्यात्ने काम गरिरहेका छन । त्यस्ता मन्त्रीहरुको म विस्तृत विवरण लिएर यही सदनमा झण्डाफोर गर्ने म यो बाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई यहीबाट जनताको तर्फबाट चुनौति दिन चाहन्छु–खवरदार, हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरु, जनताले तपाईका हात, तपाईको मुख च्यात्न नपरोस् भन्ने कुरापनि यहीबाट म खवरदारी गर्न चाहन्छु । म यहीबाट भन्न चाहन्छु–अहिलेसम्म यो सरकारले मल ल्याएको छैन ।’

सांसद रावलले एक वर्ष बितिसक्दा पनि कुम्भकर्णे निन्द्रामा रहेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नु भयो ।