• २३ असार २०७९, बिहीबार
  •      Thu Jul 7 2022
Logo

के विदेशमा बसेर स्वदेशको चिन्ता लिनु अपराध हो र ?



‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई’

स्व.गोपाल योञ्जनले गाउनु भएको यो गीत बिदेशमा रहँदा वा बस्दा धेरैले सम्झने गरेका हुन्छौँ । जसका कारण नेपालमा हुने गतिबिधि वा घटनाक्रमलाई नजिकबाट नियाली रहेका पनि हुन्छौँ ।

नेपालमा भैरहेका घटनाक्रममा बिदेशमा बसेर प्रतिक्रिया जनाउने बित्तिकै सामाजिक संञ्जालमा एक खालको प्रतिक्रिया आउने गर्दछ– बिदेशमा बसेर स्वदेशको चिन्ता किन लिनु पर्यो ? देश छाडेर बाहिर जाने अनि टिकाटिप्पणी गर्ने ? आदि आदि । तर पनि मनले मान्दैन । किनभने खोइ भित्रको त के हुन्छ म भन्न सक्दिन तर पनि बाहिर रहँदा भने देश झनै बढी दुख्दो रहेछ ।

भूकम्पको बेला होस या नाकाबन्दीको अथवा अहिले पनि लगभग जारी नै रहेको  कोरोना महामारीको बेला । तिनै बिदेशमा रहेका नेपालीले आफ्नो ठाँउबाट सकेको साथ दिए, सहयोग गरे । यता देशलाई दुख्दा उता छटपटी हुन्थ्यो । त्यसैले यहाँ अलिकति केही भयो कि बिदेशी भूमिमै रहेर पनि यता आफ्नो मातृभूमिलाई केही मल्हम पट्टी लगाउन मन लाग्छ । त्यसैले हामीले हरसम्भव कोशिस गरेकै हुन्छौँ ।

एक अनौपचारिक तथ्याङ्क अनुसार नेपाल बाहिर बिभिन्न मूलुकका करिब ८० लाख नेपाली रहेका छन् भने नेपालको अर्थतन्त्रमा बाहिर रहेका नेपालीहरुले पठाउने रकम अर्थात रेमिटेन्सको हिस्सा करिब ३० प्रतिशत रहेको छ ।

यति धेरै जनसंख्या र अर्थतन्त्रको प्रमुख आधार रहेको जनशक्तिले के देशको बारेका चिन्ता लिनु, सोच्नु वा प्रतिक्रिया जनाउनु अपराध हो र ? के त्यही रेमिटेन्स अहिले मुलुकको अर्थतन्त्रको प्रमुख आधार बनेको छैन र ?

आफू जन्मेको देश राम्रो होस् । आफ्नो माटो राम्रो होस, सबैलाई देशमा नै अबसर होस् त्यो सबैले चाहने र सोच्ने कुरा नै हो । तर आफ्ना आवश्यकता र बाध्यताले विदेशी भूमिमा रहेका बेला त्यो कति र कसरी सम्भ छ र हुन्छ ? सोचनीय विषय यो पनि हो ।

संसार अहिले ग्लोबलाइज छ । त्यसैले नेपाली मात्र होइन कि विश्वका मानिस अहिले विश्वका हरेक कुनामा पुगेर, छरिएर बसेका छन् । त्यसैले पनि विश्वलाई एउटै गाउँको संज्ञा दिने गरिएको पनि छ । हामीलाई रोजगारीकै बढी आवश्यकता होला तर अरु देशका मानिसलाई शिक्षा, व्यापार व्यावसायका आ आफ्ना चाहना र आवश्यकता होलान् । त्यसैले विश्व अहिले छरिएको छ । हामी नेपाली पनि छरिएर रहे बसेका छौँ ।

तर अरु देशका नागरिकजस्तै हामीलाई पनि जुनसुकै देशमा रहे बसेको भए पनि हाम्रो पहिलो चासो, चिन्ता र माया मातृभूमीकै लागि बढी छ । हाम्रो मनमा यो हुटहुटी हर हमेसै चलिरहन्छ । भनिन्छ बिदेशमा रहेका नेपालीलाई प्रत्येक पल चरा बनुजस्तो लाग्छ । मानौँ कि चाहेका बेला चराजस्तै भूर्र उडेर आफू जन्मेको ठाउँ पुग्न सकुँ, सानोमा खाली खुट्टाले खेलेको माटोमै कल्चिन सकुँ अनि हात थापेर पानी खाएको पँधेराकै पानी खान पाउँ । तर अफसोच त यो छ कि सोचेर पनि त यो सब कहाँ हुन्छ र ? मनले कल्पना गरेजस्तै त सबै पुगिसरी कसरी आउँछ र ?

हिजो बीर गोरखाली अर्थात लडाईका लागि मात्र पहिचान बनेकोमा आज धेरै नै परिवर्तन भएको छ । विश्वका बिभिन्न भागका पुगेका नेपालीहरुले आफनो सीप क्षमताले आआफ्ना क्षमता र प्रतिभाका आधारमा अनेकन पहिचान थपेका छन् । बिभिन्न देशमा प्रतिष्ठित पेशा गरेर सम्मानपूर्बक बसेक छन् । समग्रमा भनौँ यी नेपाली भनेर इज्जतै राखेका छन् र देशको नाम सर्वत्र छरेका छन् ।

उनीहरुको सम्मानमा पहिलो जोडिने शब्द त आखिर नेपाल र नेपाली नै न हो । किनकी कर्म गर्न जता पुगेपनि जन्मथलोको जति महत्व कर्मथलोको कर्म हुन्छ । त्यसकारण त सक्नेले नेपालका पनि बिभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । कतिपय अबस्थामा राज्यका नीतिका कारण चाहेजति लगानी हुन सकेको छैन, त्यो आफ्नै ठाउँमा छ । तर पनि विदेश बस्ने हरेक नेपालीले केही न केही अर्थात् गच्छेअनुसार स्वदेशी माटोमा केही लगानी गरेकै छन् ।
कोरोनाले थलिएको अर्थतन्त्र र पछिल्लो समय रुस तथा युक्रेनको लडाईका कारण बिग्रेगेको अर्थतन्त्रलाई टेवा दिन सरकारले बिदेशमा रहेका नेपालीलाई डलरमा खाता खोलीदिन आग्रह गर्यो भने अर्पाटमेन्ट खरिद गर्न सहजीकरण गरिदिने नीति सम्म ल्यायो । तर लगानीको सुनिश्चिता तथा व्यवसायबाट प्राप्त हुने मुनाफा लैजाने दिने बिषयमा भने अझै स्पष्ट भएको छैन ।

देशलाई समस्या परेका बेला जहाँ पुगेका नेपालीले पनि निस्वार्थ सहयोग गर्छन् । हाम्रै छिमेकी भारतले पनि बेला बेला बिदेशमा रहेका आफ्ना नागरिकलाई आब्हान गर्दै बिभिन्न योजनाहरु सार्बजनिक गरिरहेको हुन्छ । जसका कारण देशसँगको भावनात्मक सम्बन्ध झनै मजबुत हुन्छ ।
बिदेशका आर्जेको सीप, ज्ञान र धन लाई उपयोग वा लगानी गर्ने पहिलो थलो जन्मभूमी नै हो ।

बिदेशका लागि गर्न सक्नेले स्वदेशमा गर्न सक्दैन भन्ने कुरा नै होइन तर त्यसका लागि राज्यको नीति सहज हुनैपर्छ । नीतिको थिति बस्न सक्यो भने स्वदेशमा समृद्धि आफै भित्रिन्छ । हाम्रो माटो संसारकै सबैभन्दा मलिलो छ । यही माटोलाई पसिनाले सिँचेर सुन फलाउन सकिन्छ ।

मलाई लाग्छ हामीले विदेशमा कमाएको सीप, ज्ञान र धनलाई स्वदेशमा लगाउन अब ढिला नगरौँ । हाम्रो मातृभूमिले हामीलाई बोलाउने होइन हामी आफै जाने हो । सरकारले पनि हाम्रा लागि नीतिहरु लगानीमैत्री बनाइदेओस् । नोट चल्ने भोट नचल्ने जस्तो व्यवहार नगरोस् । यसो भयो भने यति उर्वर हाम्रो भूमिमा समृद्धि छाउने बेरै लाग्दैन ।

-अधिकारी अमेरिका बसोबास गर्नुहुन्छ