२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्दछः अध्यक्ष प्रचण्ड



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उहाँले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहेनत गरेर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विजय हासिल गरेका १२१ पलिकालाई समाजवादी सत्ताका भ्रुणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । म तपाईँहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला । जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला ।”

अध्यक्ष दाहालले निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेको पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिनुभयो । माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उहाँको जिकिर छ ।

अध्यक्ष दाहालले पछिल्लो समय पार्टी पहिचानको सङ्कटमा परेको र जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले पहिचानको क्राइसिसमा छौँ । क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका बाहक भनेर कुरामा पहिचान छ तर व्यवहारमा त्यस्तो छैन । जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन् । अब यसपटक त्यस्तो हुनु हुँदैन ।”

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने आकलन गरिए पनि प्रभावकारी गठबन्धन नभएकाले आशातित नतिजा प्राप्त नभएको उल्लेख गर्नुभयो । माओवादी प्रभाव भएका कतिपय जिल्लाहरूमा गठबन्धनका दलहरूले तालमेलको मर्मविपरीत एमालेसँग तालमेल गरी माओवादीलाई पराजित गरेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले यस विषयमा गठबन्धनभित्र समीक्षा गरिने बताउनुभयो ।

अध्यक्ष दाहालले अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी सङ्घ र प्रदेश निर्वाचनमा समेत कायमै राखिने बताउँदै स्थानीय तहमा भन्दा आगामी निर्वाचनमा गठबन्धन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामा सामेल हुनु संसदीय पक्षधरता होइन भनेर बुझाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढेको हो तर पूँजीवादको सहयात्री होइनौँ । पूँजीवाद भत्काउन र समाजवादको बाटोमा जान तथा समाजवादको आधार तयार गर्ने भन्ने अहिलेको कार्यनीति हो । पूँजीवादलाई बलियो बनाउन शान्तिपूर्ण बाटोमा छैनौँ ।”

नेता श्रेष्ठले जनताका आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काममा केन्द्रित भएर काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । सहभागीहरूलाई स्थानीय तह सञ्चालन, कानुन निर्माणलगायत विषयमा संविधानविद् खिमलाल देवकोटालगायतले प्रशिक्षण दिनुभएको पार्टीका प्रदेश अध्यक्ष गायत्री गुरुङले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पार्टीका जिल्ला संयोजकले स्थानीय तह निर्वाचनका सम्बन्धमा रिपोर्टिङ गर्नुभएको थियो ।