• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

प्रभावकारी बन्दै महानगरको ‘कल सेन्टर’, दैनिक ३०० गुनासो



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र(कल सेन्टर) प्रभावकारी बनेको छ ।

महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भएको पहिलो कार्यपालिका बैठकको निर्णयानुसार कल सेन्टर सञ्चालनमा ल्याइएको हो । हाल दैनिक ३०० गुनासो आउने गरेको बताइएको छ ।

महानगरको सूचना प्रविधि विभागका नमराज ढकालका अनुसार आएका गुनासामध्ये ९० प्रतिशत फोहर व्यवस्थापनसँग सम्बन्धित रहेका छन् ।

त्यसैगरी सडकका खाल्डाखुल्डी पुर्ने, सेवा प्रवाह जस्ता गुनासो नागरिकका रहेका छन् । गत मङ्गलबारदेखि गुनासो भए वा केही सोधपुछ गर्नुछ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको थियो ।

सूचना प्रविधि विभागका प्रमुख ढकाल भन्नुहुन्छ, “सेन्टरको क्षमता एकैपटक १५ टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।” कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, कामपाको सेवासुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरूको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत वा विभागीय प्रमुखलाई उक्त गुनोसो प्रवाह गरिन्छ ।

यसरी आएका गुनासोको प्रकृति हेरी सम्बन्धित विभागको अगुवाइमा जतिसक्दो छिटो सम्बोधन गरिनेछ । हालका लागि कार्यालय समयमा मात्रै सञ्चालन भएको उक्त सेन्टरमा अन्य समयमा भएका गुनासो रेकर्ड हुने व्यवस्था गरिएको छ ।