१० मंसिर २०८१, सोमबार
,
Latest
राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम जसपा नेपालले आइटी सेल गठन गर्ने बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बलात्कार मुद्दामा तत्काल हदम्याद नहटाउने



अ+ अ-

काठमाडौँ । बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद सरकारले तत्काल नहटाउने भएको छ ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीयमामिला मन्त्री गोविन्द बन्दीले हदम्यादसम्बन्धी प्रचलित कानूनमा रहेको व्यवस्था तत्काल पुनरविचार गर्न नसकिने बताए ।

उनका अनुसार एउटा घटनालाई लिएर हदम्यादसम्बन्धी सार्वजनिक बहस सुरु हुनासाथ हदम्यादमा पुनरविचार गर्न सकिँदैन । हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भन्ने सांसदहरुको भावनाप्रति सरकार गम्भीर रहेको छ भन्दै मन्त्री बन्दीले सार्वजनिक बहसको विषय बनेको यो हदम्यादसम्बन्धी व्यवस्थाबारेमा नेपाल कानून आयोगलाई अध्ययन गर्न भनिएको बताए ।

उनले भने, “कानून आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिनेछ र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्नेछ ।”

प्रतिवेदन आउनेवित्तिकै प्रतिवेदनले ल्याएको पक्षमा आवश्यक छलफल गरी कानूनमा आवश्यक छलफल गरिने उनको भनाइ थियो । नेपालमा मुलुकी ऐन, २०२० ले बलात्कार मुद्दामा ३५ दिन हदम्याद राखेको र पछि त्यसलाई बढाएर छ महिना बनाइएको र मुलुकी अपराध संहिता, २०७४ मा एक वर्ष राखिएको भन्दै उनले नेपालमा समाजको आवश्यकताका आधारमा बेलाबेला कानून परिवर्तन हुँदै आएको बताए ।

उनले चार वर्षअघि मात्र हदम्यादसम्बन्धी व्यवस्थामा पुनरविचार गरिएको बताए । सपना प्रधान मल्लले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको नजीरअनुसार व्यापक छलफल गरेर पुनरविचार गरिएको उनले जानकारी दिए ।