६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिराको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ ।

पाँच रोपनी क्षेत्रफलमा सरकारको रु तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न गरी चाँगुनारायण–४ हुची ढुङ्गामा २०७७ मङ्सिर २८ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको अस्पतालको आज नगर प्रमुख जीवन खत्रीले अनुगमन गर्नुभएको हो ।

नगरपालिकाको ग्रामीण क्षेत्रमा प्रसूति सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले १० शय्यामा सञ्चालित उक्त अस्पतालको उत्तरदिशाबाट माटो र ढुङ्गा खस्न थालेपछि भवनमा हुनसक्ने क्षति र जोखिमको समेत उहाँले अवलोकन गर्नुभयो । नवनिर्वाचित नगर प्रमुख खत्रीले अस्पतालको अनुगमन गर्दै अस्पतालमा जाने सडक नै जोखिममा परेकाले सडक र अस्पताल भवनको संरक्षण एवं पहिरो रोकथामका लागि जतिसक्दो छिटो काम गर्न नगरपालिकाको प्रशासन शाखालाई निर्देशन दिनुभएको छ ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्य सरोकार राख्ने अस्पतालको पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा र अस्पतालको संरक्षण मेरो पहिलो प्राथमिकता हो, यसमा आएका समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेको छु ।”

उहाँले यहाँका नागरिकको स्वास्थ्यमा सरल पहुँच पु¥याउन गुणस्तरिय स्वास्थ्य सेवालाई दुरुस्त बनाउन, अस्पताल जाने सडक र पहिराको जोखिममा रहेको भवन संरक्षणमा आफू आएपछि नगरपालिकाले गम्भीर रुपमा चासो लिएर काम सुरु गरेको बताउँदै अस्पताल माथिबाट खसेको पहिरो रोकथामका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर पालको व्यवस्थापन गर्ने र रोकथाम गरिने बताउनुभयो ।

अस्पतालको अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले आज नगरप्रमुख खत्री, अन्य जनप्रतिनिधि र कर्मचारी समेतको टोलीले अस्पतालको अवस्थाकाबारेमा अनुगमन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिर हल्ला भए जस्तो अस्पताल भवन जोखिममा परेको छैन, भीर खारेरै अस्पताल भवन बनाएको हो, माथि भिरबाट खुकुलो केही माटो खसेको छ, यद्यपि माटो पनि खस्न नदिने गरी सावधानी अपनाउँदै रोकथाम गर्न रेडक्रससँग पाल लिएर काम गर्दैछौँ ।”

नगरपालिका आगामी आवका लागि बजेट बनाउने काममा तीव्र गतिमा लागिरहेको बताउँदै अब आउने आथिक वर्षमा अस्पतालको पहिरो रोकथाम, सडक पक्की गर्ने, टेवा पर्खाल लगाउने र सेवा गुणस्तरीयता बनाउन आवश्यक बजेट विनियोजन गरेर थप काम गर्ने तयारी भएको उहाँले बताउनुभयो ।