९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह भारत यात्रामा



अ+ अ-

पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह एकमहिने यात्रामा निस्केको छ । आज पत्रकार सम्मेलनमार्फत यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सोे समूहले भारतको यात्रा तय गरेको हो ।

सुस्ताइरहेको पर्यटनलाई थप गतिशील बनाउन पोखरालगायत नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक सामग्री बोकेर सो टोलीले भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन र नैनीताल पुगेर फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो ।

यात्राले फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने र एक अर्काबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने भएकाले घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको उहाँको भनाइ छ । पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले यसअघि नेपालका ७० जिल्लाको यात्रा सकेर यसपटक भारतका विभिन्न स्थानको छनोट गरी यात्रा तय गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सन् २००८ मा प्याराग्लाइडिङ व्यवसायमा आबद्ध र विशेषगरी घुमघाममा रुचि राख्ने युवाको जमातले पोखरा नजिकै ताङतिङ गाउँ घुम्ने क्रममा ‘डुलुवा’ नाम जुराएसँगै अहिले यो समूह घुमघामका लागि सोही नामबाट परिचित छ ।

अहिले सो समूह युवा लक्षित जिम्मेवार पर्यटन प्रवद्र्धनको सोचसहित जुटेको हो । यो समूहले यात्राका क्रममा सुदूरपश्चिमका विकट बस्तीमा पुगेर न्यानो कपडा, स्कुलका सामग्री वितरण गर्ने गरेको छ ।

पत्रकार सम्मेलनमा भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले भारतका प्रसिद्ध र परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्वका स्थानको छनोट गरी यात्रा तय गरेकामा उपलब्धिमूलक यात्राको शुभकामना दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले युवा जोश जाँगरसहित आफ्नो ठाउँको विकासमा जुट्नुपर्छ भन्ने सोचका युवाले पर्यटन प्रवद्र्धनका लागि देखाएको सक्रियता र गतिविधि निकै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले पोखरा साहासिक गतिविधिको शहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा यस क्षेत्रको साहासिक गतिविधिलाई पनि प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने र नयाँनयाँ पर्यटकीय गन्तब्यको उजागर गर्ने बताउनुभयो । पर्यटनका लागि धेरैभन्दा धेरै युवामा घुम्ने संस्कृतिको विकास गराउनुपर्ने उहाँको भनाइ थियो ।

समूहका अर्का सिनियर टोली प्रमुख सुनिल भट्टराइले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको जनाउँदै भारतका विभिन्न ठाउँमा पत्रकार सम्मेलन गरेर प्रवद्र्धनात्मक सामग्रीसहित औपचारिक र अनौपचारिक भेटघाटलाई जोड दिइने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवद्र्धनात्मक सहयोग गरेको डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको यात्राको टोलीमा नौ जना प्याराग्लाइडिङ पाइलटसहित विभिन्न पेशा व्यवसायमा आबद्ध १९ युवाको सहभागिता रहेको समूहका सदस्य विकास भट्टराइले जानकारी दिनुभयो ।