• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

मजदुरी गर्दागर्दैै मालिक भएकी नन्दा नेपालीको कथा



वीरेन्द्रनगर । सङ्घर्षबाटै सफलता प्राप्त हुन्छ । सङ्घर्षलाई निरन्तर अगाडि बढाएमा सफलता प्राप्त गर्न असम्भव पनि छैन भन्ने कुरालाई जीवनमा चरितार्थ गरेर देखाउनुभएको छ, वीरेन्द्रनगर वडा नं १२ की नन्दा नेपाली (राना)ले । जीवनमा धेरै आरोह–अवरोह पार गर्ने क्रममा पीडा, अवहेलना पनि सामना गर्नुपर्दा सङ्घर्ष गरेरै सफल उद्यमी बन्नुभएकी नन्दाले अहिले विपन्न परिवारका महिलालाई रोजगारीसमेत दिँदै आउनुभएको छ ।

दैलेखमा जन्मिएरै हुर्किनुभएकी उहाँले कर्मघर भने दाङ रोज्नुभयो । दलितकी छोरी रानाका छोरासँग प्रेम विवाह गरेका कारण नन्दालाई घरबाट अस्वीकार गरियो । सामान्य परिवारकी छोरी उहाँलाई दाइजो नल्याएको निहुँमा घरपरिवारले अपहेलना गर्थे । “पहिलो कुरा अन्तरजातीय विवाह, त्यसमाथि दाइजो पनि नल्याएकाले घरमा राम्रो मान्ने कुरा नै भएन”, नन्दा भन्नुहुन्छ, “घरमा बस्न नसक्ने अवस्था नभएपछि हामीले घरै छाडेर हिड्यौँ ।”

नन्दा र उहाँका श्रीमान्ले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बसेर मजदुरी गर्न थाल्नुभयो । “कहिले घर बनाउने ठाउँमा काम गरेँ कहिले इँटा बोक्ने र गिट्टी बालुवाको काम गरेँ” उहाँ भन्नुहुन्छ, “साँझ र बिहानको हातमुख जोड्न पनि नसकिने अवस्था थियो, साथ दिने आफन्त कोही थिएनन् ।” दिनभरि काम गरेवापत रु ३०० देखि ३५० सम्म पाउने गरेको नन्दाले बताउनुभयो ।

भोक र तिर्खा सहेरै पनि नन्दा मजदुरी गर्नुहुन्थ्यो । उहाँका श्रीमान् भारत कमाउन जानुहुन्थ्यो तर पनि दुवै जनाको कमाइले गुजरा चलाउनै धौधौ हुन्थ्यो । नन्दालाई लाग्थ्यो अरु पेशा गर्न पाए गुजरा सजिलै चलाउन सकिन्छ कि । मजदुरी गरेको पैसा पनि खाना खर्च कटाएर बचाउने गर्नुभएकी उहाँले सिलाइकटाइ तालिम लिएपछि कपडा सिलाउने उपकरण किन्नुभयो । यो कामले पहिलाको भन्दा केही राहत भएको नन्दालाई अनुभूति हुँदै गयो । सिलाइकटाइ गर्न थालेपछि छोरा छोरीलाई पढाउन लेखाउन अलि सहज भयो ।

व्यवसायमा सफलता प्राप्त हुँदै गएपछि त्यसलाई बढाउन मन लाग्यो उहाँलाई । नन्दाले विसं २०६७ मा विनिता होजियारी व्यवसाय दर्ता गरेर व्यवसाय गर्दै आउनुभएको छ । उहाँले त्यहाँ अडरका विभिन्न डिजाइन, लेडिज र जेन्सको लागि स्वीटर, ड्रेसका स्वीटर, महिलाले लगाउने प्लाजोलगायत पोशाक तयार गर्दै आउनुभएको छ । उहाँले तयार पार्नुभएको पोशाक अहिले सुर्खेतका बजार, दैलेख र नेपालगञ्जसम्म पुग्ने गर्दछ । “अहिले हामीले तयार गरेको सामानको बजारमा एकदमै बढी माग भइरहेको छ, पु¥याउनै भ्याइनभ्याइ छ”, नन्दा भन्नुहुन्छ, “बजारमा जति सामानको माग भएको छ, त्यसअनुसार पु¥याउन सकिएको छैन ।”

उहाँलाई अहिले वीरेन्द्रनगर नगरपालिकाले दुईवटा ठूला होजियारी उपकरण सहयोग गरेपछि व्यवसाय पनि बढेको छ । महिला स्वरोजगार कार्यक्रमअन्तर्गत नन्दालाई उक्त उपकरण सहयोगस्वरुप उपलब्ध गराइएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका ज्योति केसी बताउनुहुन्छ ।उहाँले विभिन्न पसलमा होलसेल मूल्यमा सामान पठाउँदै आउनुभएको छ । अहिले व्यवसायमा नन्दा र श्रीमान् दुबैले काम गर्दै गर्दा नभ्याएपछि थप तीन कामदारसमेत राखिएको छ । “हामीले मात्र व्यवसाय धान्न सकेनौँ अहिले तीन महिला पनि राखेकी छु”, नन्दा भन्नुहुन्छ, “उहाँहरु पनि आर्थिक अवस्था कमजोर भएका दीदीबहिनी हुनुहुन्छ, विगतमा आफैँले पनि धेरै दुःख पाएकाले यस्तै दुःख पाएका महिलालाई काम गर्न राखेको हुँ ।”

पहिले काम काम खोज्दै हिँड्ने उहाँ अहिले मासिक रु डेढ लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताउनुहुन्छ । “पहिले दिनभरि काम गरेको रु ३०० बुझ्थे त्यही काम पाउन पनि धौधौ थियो”, नन्दा भन्नुहुन्छ, “अहिले अन्य दिदीबहिनीलाई पनि रोजगार दिन पाएकी छु ।” आजभोलि नन्दाका श्रीमान् पनि खुसी देखिनुहुन्छ । कमाउनका लागि बारम्बार भारत जाने गर्नुभएका उहाँले अहिले घरमै व्यवसाय गरेर राम्रो आम्दानी गर्नुभएको छ । त्यति मात्र होइन, यही व्यवसायको आम्दानीबाट नन्दाले घर र जग्गा पनि किन्नुभएको छ ।

व्यवसाय अझै बढाउने सोचमा हुनुहुन्छ उहाँ । “यो व्यवसायलाई अझै ठूलो बनाएर धेरै दीदीबहिनीलाई तालिम दिने र यही रोजगार दिने सोच छ”, नन्दा भन्नुहुन्छ, “जसलाई साँझबिहान दुःख गरेर गुजारा गर्न समस्या भएको छ, उहाँहरूलाई यहाँ रोजगारी दिने हो ।” महिला आर्थिकरूपमा सक्षम भएपछि हिंसा नहुने उहाँको बुझाइ छ । आफूसँग भेटिने जो–कोही महिलालाई पनि नन्दा आर्थिक आयआर्जनमा लाग्न सुझाव दिनुहुन्छ । “महिला हिंसाको मुख्य कारण भनेकै महिला आफू आर्थिकरूपमा सक्षम नहुनु रहेछ । जुन कुरा मैले आफ्नै जीवनमा भोगैँ”, उहाँ भन्नुहुन्छ, “पहिले दाइजो नल्याएको भनेर हेप्ने घरपरिवारको अहिले ममाथिको दृष्टिकोण फरक छ ।”

पहिले रु २० हजार लगानीबाट सुरु गरेको व्यवसाय लाखौँको कारोबार गर्न सफल हुँदा नन्दा आफैँ दङ्ग हुनुहुन्छ । “पहिला त्यति रकमबाट सुरुआत गरेको व्यवसाय यति राम्रो हुँदा आफैँलाई अचम्म लाग्छ”, उहाँ भन्नुहुन्छ, “उहिले एक पोका नुन किनेर खान सकिँदैनथ्यो, दिने पनि कोही थिएनन्, अहिले त हाम्रोमा आएर एक छाक खाना खाएर जानुपर्यो भन्ने धेरै हुन्छन् । यति फरक हुँदोरहेछ ।”यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल महिला स्वरोजगार कार्यक्रमबाट नगरका धेरै महिला व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउनुहुन्छ । “महिला स्वरोजगारअन्तर्गत कतिपयले अटो चलाउनुभएको छ, कतिले ढाका बुनाइ, सिलाइकटाइजस्ता तालिम लिएर व्यवसाय सुरुआत गर्नुभएको छ”, उहाँ भन्नुहुन्छ, “स्वरोजगार कार्यक्रमबाट महिलाले राम्रो सफलता प्राप्त पनि गर्नुभएको छ ।” रासस