८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग

मजदुरी गर्दागर्दैै मालिक भएकी नन्दा नेपालीको कथा

मजदुरी गर्दागर्दैै मालिक भएकी नन्दा नेपालीको कथा
अ+ अ-

वीरेन्द्रनगर । सङ्घर्षबाटै सफलता प्राप्त हुन्छ । सङ्घर्षलाई निरन्तर अगाडि बढाएमा सफलता प्राप्त गर्न असम्भव पनि छैन भन्ने कुरालाई जीवनमा चरितार्थ गरेर देखाउनुभएको छ, वीरेन्द्रनगर वडा नं १२ की नन्दा नेपाली (राना)ले । जीवनमा धेरै आरोह–अवरोह पार गर्ने क्रममा पीडा, अवहेलना पनि सामना गर्नुपर्दा सङ्घर्ष गरेरै सफल उद्यमी बन्नुभएकी नन्दाले अहिले विपन्न परिवारका महिलालाई रोजगारीसमेत दिँदै आउनुभएको छ ।

दैलेखमा जन्मिएरै हुर्किनुभएकी उहाँले कर्मघर भने दाङ रोज्नुभयो । दलितकी छोरी रानाका छोरासँग प्रेम विवाह गरेका कारण नन्दालाई घरबाट अस्वीकार गरियो । सामान्य परिवारकी छोरी उहाँलाई दाइजो नल्याएको निहुँमा घरपरिवारले अपहेलना गर्थे । “पहिलो कुरा अन्तरजातीय विवाह, त्यसमाथि दाइजो पनि नल्याएकाले घरमा राम्रो मान्ने कुरा नै भएन”, नन्दा भन्नुहुन्छ, “घरमा बस्न नसक्ने अवस्था नभएपछि हामीले घरै छाडेर हिड्यौँ ।”

नन्दा र उहाँका श्रीमान्ले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बसेर मजदुरी गर्न थाल्नुभयो । “कहिले घर बनाउने ठाउँमा काम गरेँ कहिले इँटा बोक्ने र गिट्टी बालुवाको काम गरेँ” उहाँ भन्नुहुन्छ, “साँझ र बिहानको हातमुख जोड्न पनि नसकिने अवस्था थियो, साथ दिने आफन्त कोही थिएनन् ।” दिनभरि काम गरेवापत रु ३०० देखि ३५० सम्म पाउने गरेको नन्दाले बताउनुभयो ।

भोक र तिर्खा सहेरै पनि नन्दा मजदुरी गर्नुहुन्थ्यो । उहाँका श्रीमान् भारत कमाउन जानुहुन्थ्यो तर पनि दुवै जनाको कमाइले गुजरा चलाउनै धौधौ हुन्थ्यो । नन्दालाई लाग्थ्यो अरु पेशा गर्न पाए गुजरा सजिलै चलाउन सकिन्छ कि । मजदुरी गरेको पैसा पनि खाना खर्च कटाएर बचाउने गर्नुभएकी उहाँले सिलाइकटाइ तालिम लिएपछि कपडा सिलाउने उपकरण किन्नुभयो । यो कामले पहिलाको भन्दा केही राहत भएको नन्दालाई अनुभूति हुँदै गयो । सिलाइकटाइ गर्न थालेपछि छोरा छोरीलाई पढाउन लेखाउन अलि सहज भयो ।

व्यवसायमा सफलता प्राप्त हुँदै गएपछि त्यसलाई बढाउन मन लाग्यो उहाँलाई । नन्दाले विसं २०६७ मा विनिता होजियारी व्यवसाय दर्ता गरेर व्यवसाय गर्दै आउनुभएको छ । उहाँले त्यहाँ अडरका विभिन्न डिजाइन, लेडिज र जेन्सको लागि स्वीटर, ड्रेसका स्वीटर, महिलाले लगाउने प्लाजोलगायत पोशाक तयार गर्दै आउनुभएको छ । उहाँले तयार पार्नुभएको पोशाक अहिले सुर्खेतका बजार, दैलेख र नेपालगञ्जसम्म पुग्ने गर्दछ । “अहिले हामीले तयार गरेको सामानको बजारमा एकदमै बढी माग भइरहेको छ, पु¥याउनै भ्याइनभ्याइ छ”, नन्दा भन्नुहुन्छ, “बजारमा जति सामानको माग भएको छ, त्यसअनुसार पु¥याउन सकिएको छैन ।”

उहाँलाई अहिले वीरेन्द्रनगर नगरपालिकाले दुईवटा ठूला होजियारी उपकरण सहयोग गरेपछि व्यवसाय पनि बढेको छ । महिला स्वरोजगार कार्यक्रमअन्तर्गत नन्दालाई उक्त उपकरण सहयोगस्वरुप उपलब्ध गराइएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका ज्योति केसी बताउनुहुन्छ ।उहाँले विभिन्न पसलमा होलसेल मूल्यमा सामान पठाउँदै आउनुभएको छ । अहिले व्यवसायमा नन्दा र श्रीमान् दुबैले काम गर्दै गर्दा नभ्याएपछि थप तीन कामदारसमेत राखिएको छ । “हामीले मात्र व्यवसाय धान्न सकेनौँ अहिले तीन महिला पनि राखेकी छु”, नन्दा भन्नुहुन्छ, “उहाँहरु पनि आर्थिक अवस्था कमजोर भएका दीदीबहिनी हुनुहुन्छ, विगतमा आफैँले पनि धेरै दुःख पाएकाले यस्तै दुःख पाएका महिलालाई काम गर्न राखेको हुँ ।”

पहिले काम काम खोज्दै हिँड्ने उहाँ अहिले मासिक रु डेढ लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताउनुहुन्छ । “पहिले दिनभरि काम गरेको रु ३०० बुझ्थे त्यही काम पाउन पनि धौधौ थियो”, नन्दा भन्नुहुन्छ, “अहिले अन्य दिदीबहिनीलाई पनि रोजगार दिन पाएकी छु ।” आजभोलि नन्दाका श्रीमान् पनि खुसी देखिनुहुन्छ । कमाउनका लागि बारम्बार भारत जाने गर्नुभएका उहाँले अहिले घरमै व्यवसाय गरेर राम्रो आम्दानी गर्नुभएको छ । त्यति मात्र होइन, यही व्यवसायको आम्दानीबाट नन्दाले घर र जग्गा पनि किन्नुभएको छ ।

व्यवसाय अझै बढाउने सोचमा हुनुहुन्छ उहाँ । “यो व्यवसायलाई अझै ठूलो बनाएर धेरै दीदीबहिनीलाई तालिम दिने र यही रोजगार दिने सोच छ”, नन्दा भन्नुहुन्छ, “जसलाई साँझबिहान दुःख गरेर गुजारा गर्न समस्या भएको छ, उहाँहरूलाई यहाँ रोजगारी दिने हो ।” महिला आर्थिकरूपमा सक्षम भएपछि हिंसा नहुने उहाँको बुझाइ छ । आफूसँग भेटिने जो–कोही महिलालाई पनि नन्दा आर्थिक आयआर्जनमा लाग्न सुझाव दिनुहुन्छ । “महिला हिंसाको मुख्य कारण भनेकै महिला आफू आर्थिकरूपमा सक्षम नहुनु रहेछ । जुन कुरा मैले आफ्नै जीवनमा भोगैँ”, उहाँ भन्नुहुन्छ, “पहिले दाइजो नल्याएको भनेर हेप्ने घरपरिवारको अहिले ममाथिको दृष्टिकोण फरक छ ।”

पहिले रु २० हजार लगानीबाट सुरु गरेको व्यवसाय लाखौँको कारोबार गर्न सफल हुँदा नन्दा आफैँ दङ्ग हुनुहुन्छ । “पहिला त्यति रकमबाट सुरुआत गरेको व्यवसाय यति राम्रो हुँदा आफैँलाई अचम्म लाग्छ”, उहाँ भन्नुहुन्छ, “उहिले एक पोका नुन किनेर खान सकिँदैनथ्यो, दिने पनि कोही थिएनन्, अहिले त हाम्रोमा आएर एक छाक खाना खाएर जानुपर्यो भन्ने धेरै हुन्छन् । यति फरक हुँदोरहेछ ।”यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल महिला स्वरोजगार कार्यक्रमबाट नगरका धेरै महिला व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउनुहुन्छ । “महिला स्वरोजगारअन्तर्गत कतिपयले अटो चलाउनुभएको छ, कतिले ढाका बुनाइ, सिलाइकटाइजस्ता तालिम लिएर व्यवसाय सुरुआत गर्नुभएको छ”, उहाँ भन्नुहुन्छ, “स्वरोजगार कार्यक्रमबाट महिलाले राम्रो सफलता प्राप्त पनि गर्नुभएको छ ।” रासस